‘मार्सी’ को तरकारी बजार उद्घाटनमा एमाले अध्यक्षलाई एस्कर्टिङ

‘मार्सी’ को तरकारी बजार उद्घाटनमा एमाले अध्यक्षलाई एस्कर्टिङ

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’ ले भक्तपुरमा तरकारी बजार सञ्चालन गर्न लागेका छन् । सिपाडोलमा निर्मित तरकारी बजारको भोलि ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालकै सबैभन्दा ठूलो भनिएको तरकारी बजारको उद्घाटन गर्न जाँदा एमाले अध्यक्षलाई उहाँको रुचिअनुसार मोटरसाइकलबाट महेश बस्नेतको टोलीले एस्कर्टिङ गर्ने योजना छ । एमाले भक्तपुरले जारी गरेको सूचनामा भोलि बिहान पार्टी कार्यालय,सूर्यविनायकमा भेला भएर ओलीको निवास बालकोटदेखि तरकारी बजारसम्म बृहत मोटरसाइकल एस्कर्टिङ गरिने भएकाले पार्टीका सबैलाई मोटरसाइकल लिएर आउन अनुरोध गरिएको छ ।

‘सूर्यविनायक हरित कृषि थोक बजार’ नामक कृषिबजार सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोलमा छ । भक्तपुरकै मुख्य स्थान सूर्यविनायक चोक नजिकैको दक्षिणपूर्वमा रहेको बजारमा दुईवटा द्वार छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब तीन सय मीटरपूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमा जोडिएको छ ।

आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थापन गर्न दुईवटा द्वार राखिएको बताइएको छ । कृषि बजारमा तरकारी किन्न आउनेहरुको गाडी जाममा नपरोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।

बजारका सञ्चालक रहेका भनिएका मार्सी एमाले केन्द्रीय सदस्य पनि हुन् । अध्यक्ष ओलीलाई ‘हजुरबा’ भनेर खुशी तुल्याएवापत उनले पार्टी प्रवेश गरेलगत्तै एमालेको उपल्लो तहको पद हात पारेका हुन् । चितवन महाधिवेशनमा केन्द्रीय सदस्य नपाउँदा बाउँठिएर हिँडेका उनलाई अध्यक्ष ओलीले मनोनित कोटाबाट केन्द्रमा तान्नुभएको हो ।

टिप्पणीहरू