जुम्लाका बालबालिकालाई टाइफाइडको खोप दिइने

जुम्लाका बालबालिकालाई टाइफाइडको खोप दिइने

जुम्लामा साढे ४२ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ ।

चैत २५ देखि वैशाख १८ गतेसम्म सञ्चालन हुने खाेप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । याे अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खाेप लगाउन टाेली परिचालन गरिनेछ । गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्न आग्रह गरे ।

यस्तै, जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ९ सय ७८, आव २०७६/७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेकाे स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

टिप्पणीहरू