सर्वोच्चद्वारा रासस अध्यक्ष श्यामलको पुनर्बहाली
गत बिहीबार सेवाबाट हटाइएका राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ को पुनर्बहाली हुने भएको छ । सरकारले कानुन र नियमविपरीत कार्यकारी अध्यक्षबाट हटाएको भन्दै अधिकारीले सर्वोच्च अदालतमा हालेको रिटमा अन्तरिम आदेश भएपछि उनलाई पदबहालीको बाटो खुलेको हो ।
सर्वोच्चको इजलास नम्बर ५ मा रहनुभएका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अधिकारीको रिटमा अन्तरिम आदेश दिएको हो । इजलासको ४ नम्बर पेसीमा रहेको उक्त मुद्दामा निजलाई हटाउनुपर्ने कारण नदेखिएकाले बाँकी कार्यकाल पूरा गर्न आदेश दिइएको बताइएको छ ।
यसअघि सरकारले दुई महिना २० दिन कार्यकाल बाँकी रहेका अधिकारीलाई चैत १० गतेदेखि हटाएको थियो । सेवाबाट हटाउनुअघि उनीसँग स्पष्टिकरण समेत सोधिएको थियो ।
‘तपाईंको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले’ भन्ने व्यहोरा लेखिएको पत्र बुझाएर अवकास दिइएपछि श्यामल अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् ।
गत पुस १४ गते मन्त्रालयले अध्यक्षसँग कार्य सम्पादन सम्झौता गरे पनि ४० दिनपछि कार्यप्रगतिलाई आधार मान्दै स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण पनि गत माघको अन्तिम साता सोधिएको हो ।
टिप्पणीहरू