रुसी विमानलाई चीनमा रातो कार्पेट

रुसी विमानलाई चीनमा रातो कार्पेट

रुसी अक्षरमा ‘रसिया’ लेखिएको एउटा विशेष विमान आज बिहान चीनको दक्षिणी भेगस्थित आन्हुई प्रान्तको ह्वाङ्सान विमानस्थलमा अवतरण गरेको छ । उक्त विमान रोकिनासाथ रातो कार्पेट बिच्छाएर यात्रुको स्वागत गरिएको थियो ।

ह्वाङ्सान विमानस्थलमा उडान गर्ने यो पहिलो रुसी विशेष विमान हो । विमानका पाहुनाले त्यहाँको टुन्सी शहरमा आयोजित एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदैछन् । पाहुना अरु नभएर रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र प्रतिनिधिमण्डलका सदस्य हुन् ।

उक्त शहरमा अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीलगायत धेरै वटा देशका प्रतिनिधि पुगेका छन् । चीनले अफगानिस्तानको छिमेकी मुलुकका विदेशमन्त्रीहरुको तेस्रो सम्मेलन आयोजना गरेको छ ।

जसमा चीन,रुस,पाकिस्तान,इरान, अफगानिस्तान,ताजकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेशमन्त्रीहरु सहभागी हुँदैछन् । सम्मेलनमा कतार र इण्डोनेशियाका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।

अफगानिस्तानको पछिल्लो अवस्थाको सहज अवतरण र अफगान नागरिकलाई मानवीय सहयोग पुर्याउने सम्बन्धमा ती मुलुकले आपसी छलफल गर्न लागेका हुन् । सहभागी राष्ट्रमध्ये सातवटा मुस्लिम समुदाय बाहुल्य मुलुक हुन् ।

वर्तमान अवस्थामा युक्रेन समस्याका कारण चीनमा आज र भोलि हुन लागेको उक्त सम्मेलनलाई अमेरिका र उसका सहयोगी मुलुकले चासोका साथ हेरेका छन् । युक्रेन समस्यापछि रुसी विदेशमन्त्री पहिलो पटक चीन भ्रमणमा गएकाले पनि अमेरिकाको चासो बढेको बताइन्छ ।

यसबीच अमेरिकाले आफ्नो देशका बैंकमा रहेको अफगान सरकारको सबै निक्षेप जफत गरेकाले सोसम्बन्धमा अफगानिस्तानको पक्षमा अन्तर्राष्ट्रिय समर्थन बटुल्न पनि हुन लागेको सम्मेलन उपयोगी हुने ठानिएको छ । सम्मेलनले अफगानिस्तानको प्राथमिक आर्थिक र वित्तीय जिम्मेवारी लिन संयुक्त राज्य अमेरिकालाई आह्वान गर्ने सम्भावना रहेको बताइन्छ ।

नेपाल आउने क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले गत साता अफगानिस्तान भ्रमण गरेका थिए । अगस्ट २०२१ मा तालिबान सत्तामा फर्किएपछि काबुल पुग्ने वाङ उच्च तहका पहिलो विदेशी अधिकारी हुन् ।

टिप्पणीहरू