एमालेमा लोकतान्त्रिक अभ्यास नभएको माओवादी नेताको ठहर
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेकपा एमाले आन्तरिक लोकतन्त्रको अभ्यासमा सबैभन्दा कमजोर रहेको टिप्पणी गर्नुभएको छ ।
पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले जे बोल्यो त्यहि हुने अवस्था रहेकाले आन्तरिक लोकतन्त्र कमजोर बनेको बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीसँग आँखा जुधाएर प्रश्न गर्ने नेता अहिले एमालेमा हुँदै नभएको पनि उहाँको भनाइ छ ।
‘नेकपा हुँदा हामी तीन वर्षसँगै काम गर्यौं । एमालेका मुख्य नेताहरु नै ओलीजीसँग सिधा बोल्न सक्दैनथे । प्रश्न उठाउने त कुरै छाडौं राम्रा कुरा भन्न पनि ओलीजीको मुड हेर्नुपर्ने अवस्था देखियो । भन्न त उहाँहरु आफूलाई एकदम लोकतान्त्रिक भन्नुहुन्छ तर व्यवहारतः त्यहाँ आन्तरिक लोकतन्त्र नै छैन ।
नेता पुनले सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसमा पनि अपेक्षाकृत लोकतान्त्रिक अभ्यास हुन नसकेको बताउनुभयो । सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रमहरुमा पार्टीका अन्य नेताहरुलाई थर्काउने गरेको दृष्टान्त दिँदै उहाँले काँग्रेस लोकतन्त्रप्रति इमान्दार पार्टी भए पनि आन्तरिक लोकतन्त्रको अभ्यासमा भने कमजोर देखिएको बताउनुभयो ।
समकालीन राजनीतिक पार्टीहरुमा माओवादी केन्द्र नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको तर कतिपय व्यवस्थापकीय कमजोरीका कारण बेला–बेला प्रश्न उठ्ने गरेको नेता पुनको भनाइ छ । बढी लोकतान्त्रिक भएकै कारण माओवादीमा कहिलेकाहीँ ठूलाठूला बहस हुने गरेको पनि उहाँले स्मरण गर्नुभयो ।
टिप्पणीहरू