टोलटोलमा चुनावी चहलपहल,गाउँ केन्द्रित बन्दै नेता,कार्यकर्ता
यतिबेला टोलटोलमा चुनावी चहलपहल शुरु भएको छ । नेताहरू गाउँ पस्न थालेका छन् । जिल्ला बाहिर रहेका दलका नेता, कार्यकर्ताहरू जिल्ला केन्द्रित भएका छन् ।
प्रमुख पार्टीका प्रभावशाली नेताहरू पनि जिल्ला केन्द्रित भइरहेका छन् । पालिका र वडास्तरमा समेत चुनाव लक्षित सभा सम्मेलन गरिरहेका छन् । धादिङमा नेपाली काङ्ग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरु निर्वाचनमा जुटिसकेका छन् । जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडा स्तरसम्म खटिएका हुन् ।
नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तीव्र पारेको छ । २०७४ को निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिहरुले खेलेको भूमिकाको समीक्षा गर्दै ग्रामीण भेगका जनताको बीचमा चुनावी दरदैलो गरिरहेको नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बताए ।
“मतदाता भने २०७४ को चुनावमा भन्दा यो पटक निकै सजग देखिएका छन् । राजनीतिक खिचातानीकै कारण पाउने सुविधाबाट बञ्चित भएकाहरु पार्टी भन्दा पनि व्यक्ति छान्ने अभियानमा देखिन्छन् ।”
नेकपा एमालेले चुनाव लक्षित प्रशिक्षण र कार्यकर्ता भेलालाई तीब्रता दिइरहेको छ । नेकपा एमालेले चैत ४ गते महासचिव शंकर पोखरेललाई धादिङ ल्याएर कार्यकर्ता प्रशिक्षण गराएको छ । पछिल्लो महिनामा मात्रै बागमती प्रदेश प्रमुख केशव पाण्डे, नेताहरु पुष्प कँडेल,खेम लोहनीलगायतले जिल्लाका ठाउँ ठाउँमा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम गरेका छन् । एमालेले तीनै तहका सरकारको नेतृत्व गर्दा गरेका उपलब्धिलाई महत्वका साथ प्रचार गरेर मतदाताहरुसम्म पुगिरहेको एमाले धादिङका जिल्ला कमिटी सदस्य भरत ढुंगानाले बताए ।
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले पनि गल्छी, धुनिबेसीलगायत पालिकाहरुमा अध्यक्ष माधव नेपाललाई नै ल्याएर चुनावी माहोल तताएको छ । फागुन २८ गते गल्छी आएका नेपाल पुनः धुनिबेशी नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्न चैत ५ गते आएका थिए । निर्वाचन गतिविधिसङ्गै आन्तरिक संगठन बनाउने कसरत पनि चलिरहेकै छ । स्थानीय तहहरुको भेला र कमिटी गठन कार्य भइरहेको एकीकृत समाजवादी धादिङका सचिव सुवाष खतिवडाले बताए ।
नेकपा माओवादी र राप्रपाका नेता कार्यकर्ता पनि आफ्नो पार्टीको प्रभाव जमाउने गरी ‘चुनावी मिसन’ बनाएर गाउँ पस्न थालेका छन् । यी दुबै पार्टीले निर्वाचन केन्द्रित प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरेर कार्यकर्ताको टोलटोल घरघरमा गैरहेका छन् ।
नेता,कार्यकर्ताको गाउँ प्रवेशसँगै सम्भावित चुनावी परिदृष्यको बारेमा चोक चौतारा,चियापसल र मेलापातमा छलफल हुन थालेको छ । स्थानीय तहको ५ वर्षको कार्यकालको समीक्षा र आगामी नेतृत्वको विषयको चर्चा हुन थालेको छ । स्थानीय मतदाताहरु गाउँटोलको विकासमा अग्रसरलाई उम्मेदवार बन्न उत्प्रेरित गरिरहेका छन् भने नेता कार्यकर्ताहरु पार्टीमा गरेको योगदान,जनाधार मूल्यांकन, कार्यक्षमतालाई प्राथमिकतामा राखेर टिकट दिनुपर्ने तर्क गर्छन् ।
धादिङको २ वटा नगरपालिका र ११ वटा गाउँपालिका १३ वटै स्थानीय तहलाई चुनावी अभियानले ढपक्कै ढाक्न थालेको छ । गाउँमा २०७४ सालको स्थानीय तहको निर्वाचनताका भन्दा अहिलेको राजनीतिक परिस्थिति फेरिएको छ । दलका कार्यकर्ताहरू मत आफ्नो पक्षमा तान्न अघिल्लो चुनावमा भन्दा बढी सक्रिय देखिएका छन् । नेतृत्वका आकांक्षीले पार्टीका नेताहरूसँग लबिङ थालेका छन् ।
पुरानै अनुहारहरु आकांक्षी देखिएको स्थानीय तहमा यसअघि गरेका उपलब्धीहरुलाई महत्वका साथ प्रचार गर्दै मतदाता आकर्षित गर्ने योजना सुनाउन थालेका छन् भने नयाँ आकांक्षीहरु यसअघि चुनाव जितेकोले भन्दा अझ राम्रो गर्ने र विकासको बत्ति पाल्ने योजना अघि सार्दै गाउँ छिरेका छन् ।
मतदाता भने २०७४ को चुनावमा भन्दा यो पटक निकै सजग देखिएका छन् । राजनीतिक खिचातानीकै कारण पाउने सुविधाबाट बञ्चित भएकाहरु पार्टी भन्दा पनि व्यक्ति छान्ने अभियानमा देखिन्छन् । पार्टीमा त्याग र जनताको हितमा काम गर्नेलाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष मनराज भण्डारीले बताए ।
टिप्पणीहरू