प्रधानमन्त्री देउवा भारत पुग्ने,रुसी विदेशमन्त्रीले दिल्ली छाड्ने
भारतको दुई दिने भ्रमणमा हिजो नयाँ दिल्ली पुगेका रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ आज अपरान्ह मस्को उड्दै छन् । त्यति नै बेला नेपालका प्रधानमन्त्री तीन दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली उत्रने कार्यक्रम तालिका छ ।
बुधबार र बिहीबार चीनको आन्हुई प्रान्तमा भएको अफगानिस्तानका छिमेकी र शुभचिन्तक मुलुकका विदेशमन्त्रीहरुको बैठकमा भाग लिएर लाभरोभ हिजो भारत गएका हुन् । युक्रेनमाथि मस्को आक्रमणपछि रुसी विदेशमन्त्रीको यो पहिलो भारत भ्रमण हो । भ्रमणको क्रममा उनले आज प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलाई भेट्दै छन् ।
भेटको क्रममा भारतीय पक्षले रुसी विदेशमन्त्रीसँग यसअघि भएका सम्झौताबमोजिमका सैन्य हतियार र बन्दोबस्तीलगायत एस ४०० क्षेप्यास्त्र प्रणाली तोकिएको समयमा उपलब्ध गराउन आग्रह गर्ने बुझिएको छ ।
रुसी विदेशमन्त्रीको भारत आगमन अमेरिकी राष्ट्रिय सुरक्षा उपसल्लाहकार दलिप सिंह र बेलायती विदेश सचिव लिज ट्रसको भ्रमणलगत्तै हुनुलाई पनि अर्थपूर्ण मानिएको छ । गत साता चिनियाँ विदेशमन्त्री वाङ यी पनि नयाँ दिल्लीको भ्रमण सकेर नेपाल हुँदै स्वदेश फर्केका थिए ।
भारतले युक्रेन मामिलामा अप्रत्यक्ष रुपमा रुसको समर्थन गरे पनि औपचारिक रुपमा युक्रेन समस्याको कूटनीतिक र वार्तामार्फत् समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ । यसबीच भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच तीन पटक टेलिफोन वार्ता भइसकेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मोदीसँग दुई पटक टेलिफोन कुराकानी गरेका छन् ।
टिप्पणीहरू