चुनावको मुखैमा नेतालाई प्रहरी चौकीले बोलाएपछि ….

चुनावको मुखैमा नेतालाई प्रहरी चौकीले बोलाएपछि ….

महानगरीय प्रहरी वृत्त बालाजुमा मंगलबार मध्यान्ह नेताको भेषमा पुगेका एक जना निकै जंगिए । उनले सबैलाई जानकारी गराउँदै ठूलो स्वरमा भनेका थिए, ‘म चुनावको तयारीमा व्यस्त छु । राजनीति गर्ने मान्छे धेरैबेर अलमल गर्ने फुर्सद छैन ।’

यसो भनेर प्रहरीको अगाडि जंगिनेले आफूलाई राप्रपाको नेता भनेका थिए । उनी ‘नक्कली सुन बिक्री’ को लेनदेनमा प्रहरी कार्यालय पुगेका हुन् ।

“जति अनुरोध गरे पनि गोतामेले नटेरेपछि नेताले ‘ठोकिदिन्छु’ भनेका कारण सुन पसलेले प्रहरी गुहारेको हिजो दिउँसोको चर्काचर्कीमा खुलेको हो ।”

बालाजुमा रातो भाले रेष्टुरेन्टसमेत खोलेर बसेका भनिएका उनीबारे स्थानीय गोतामे थरका व्यक्तिले शान्ति सुरक्षा पाऊँ भनेर प्रहरीलाई बेलिबिस्तार लगाएको बताइन्छ । सुन र सुनको सामान बेच्ने गोतामेसँग नौ महिनाअगाडि २२ क्यारेटको सुनको औंठी उनै ‘नेता’ ले २० हजार रुपैयाँमा किनेका थिए ।

गोतामेले उक्त सुनमा पित्तल मिसाएको भन्दै नेताले सुन फिर्ता लिएर आफ्नो पैसा फिर्ता दिन आग्रह गरेको प्रहरीको भनाइ छ । तर जति अनुरोध गरे पनि गोतामेले नटेरेपछि नेताले ‘ठोकिदिन्छु’ भनेका कारण सुन पसलेले प्रहरी गुहारेको हिजो दिउँसोको चर्काचर्कीमा खुलेको हो ।

बालाजु वृत्तका एक जना प्रहरी अधिकृतका अनुसार केहीबेर दुबै पक्षबीच भनाभन भयो र अन्तमा हिसाब र लेनदेन मिलेपछि उनीहरु वृत्तबाट लाखापाखा लागेका थिए । उक्त घटनामा संलग्न ‘नेता’ र ‘गोतामे’ को पूरा नाम के हो ? भनेर पटक पटक सोधिए पनि त्यहाँका प्रहरीले उनीहरुको विवरण खोल्न चाहेनन् ।

टिप्पणीहरू