निलम्बन प्रकरणमा धान खाने सुबोध,कार्वाही खाने महाप्रसाद
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि निलम्वित छन् । सोही दिन दिउँसोदेखि सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्ण ३६ लाख रुपैयाँ बराबरको अमेरिकी डलर घुस मागेको आरोपमा चर्चामा छन् । अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले कर्णले घुस मागेको बैंककै एउटा कार्यक्रममा छताछुल्ल पारेका हुन् ।
हुन तः पेशाले गभर्नर पनि चार्टर्ड एकाण्टेण्ट नै हुन् । मन्त्रीले कर्णले घुस मागेको म्यासेज पाँच महिना अघि नै गभर्नरलाई देखाएर कारवाही गर्न भनेको अर्थ मन्त्रालय स्रोतको दाबी छ । राष्ट्र बैंक ऐनमा गभर्नर,डेपुटी गभर्नर र सञ्चालकलाई सरकारले मात्र कारवाही गर्न सक्ने प्रावधान छ ।
कर्णले नेपालका डलर अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण सँग सिमेन्ट कारखानाको निम्ति ल्याइएको भनिएको वैदेशिक लगानी रकम र नबिल बैंकसँग एनबी बैंकको मर्जरमा परेको गाँठो फुकाइदिने वचन दिँदै उक्त घुस मागेका थिए ।
दुई वटा बैंक मर्जसम्बन्धमा दुई वटै बैंकका बंगलादेशी लगानीकर्ताको विषयलाई समेट्ने बारेमा आफूले सञ्चालक समितिबाट पारित गराइदिने तर ३० हजार अमेरिकी डलर घुस चाहिने भनेर बकायदा फोनमा म्यासेज पठाएका हुन् । उक्त म्यासेजपछि गभर्नरले कारवाहीको कुनै पहल नगरेको मन्त्रीको आरोप छ ।
‘सञ्चालक कर्णलाई बोर्ड बैठकमा अनुपस्थित हुन गभर्नर साहेबले पटक पटक भन्नुभएको हो । तर उहाँले डन प्रवृत्ति देखाउनुभयो । बोर्ड र लेखापरीक्षण समितिको बैठकमा नियमित झैँ उपस्थित हुनुभयो, टेर्नुभएन ।’
यता यहिबीचमा अमेरिकाबाट आएको पृथ्वी शाहको अवैध ४० लाख अमेरिकी डलरको गाँठो फुकाइदिन स्वयम् अर्थमन्त्रीले बैंकलाई दबाब दिएको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । बैंकमा रहेको वित्तीय जानकारी इकाइ स्रोतले भन्यो, ‘झण्डै चार वर्ष देखि नेपालका सबैजसो बैंकमार्फत् भित्र्याउन खोजिएको उक्त रकम शंकास्पद भएकाले आवश्यक निर्णयको निम्ति सम्पत्ति शुध्दिकरण विभागमा सिफारिससहित पठाइएको हो ।’
तर,मन्त्रीले उक्त रकमलाई प्रक्रिया मिलाएर मुलुुक भित्र्याउन केन्द्रीय बैंकलाई दबाब दिएको बताइन्छ । शाहको नाममा मन्त्रीलाई सम्बोधन गरेर लेखिएको निवेदनमा शर्माले आवश्यक कार्यार्थ भनी तोक लगाएर गभर्नर अधिकारीलाई केही समयअघि हस्तान्तरण गरेका थिए । अघिल्लो साता त्यही निवेदनको फोटोकपी एउटा राष्ट्रिय दैनिकमा पुगेपछि माओवादी मन्त्री रिसले चुर बनेको स्रोतको दाबी छ ।
त्यहि रिस फेर्न मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मनाउँदै अघिल्लो दिनको मन्त्रिपरिषद् बैठकको माइन्युटमा निलम्बनको निर्णय गराएर भोलिपल्ट छारस्ट गाली गर्दै साँझ गभर्नर अधिकारीलाई बालुवाटारबाट ललितपुरको नख्खुस्थित निवासमा सीमित गराइदिएका हुन् ।
राष्ट्र बैंकका गभर्नर कार्यालय स्रोत भन्छ,‘सञ्चालक कर्णलाई बोर्ड बैठकमा अनुपस्थित हुन गभर्नर साहेबले पटक पटक भन्नुभएको हो । तर उहाँले डन प्रवृत्ति देखाउनुभयो । बोर्ड र लेखापरीक्षण समितिको बैठकमा नियमित झैँ उपस्थित हुनुभयो, टेर्नुभएन ।’
लेखापरीक्षण समितिको सदस्यसमेत रहेका कर्णलाई चार्टर्ड एकाउण्टेण्टहरुको संस्थामा ‘डन’ भनेर चिनिन्छ । यसअघि नेपाल वायुसेवा निगम र नेपाल परिवार नियोजन संघमा रहेका उनी धेरै वटा विवादमा तानिएका थिए । पदको दुरुपयोग गरेर उनले आफ्नो संस्था सुवोध एसोसिएट्सलाई काम दिलाउन कुनै कसर बाँकी नराखेको चार्टर्ड एकाउण्टेण्टहरु बताउँछन् ।
कोरोना महामारीभन्दा अघिदेखि नयाँ दिल्लीमा धेरै,काठमाडौंमा थोरै बस्दै आएका उनले यसबीच बैंकको अधिकांश बोर्ड बैठक र लेखापरीक्षण समितिको बैठकमा जुमबाट सहभागिता जनाएका थिए । जुमबाट बैठक बसेर उनले प्रति बैठक साढे सात हजार रुपैयाँ बुझ्न छाडेनन् । चार वर्षदेखि राष्ट्र बैंक सञ्चालकको आवरणमा उनले झिनामसिनादेखि ठूलै कामसम्म निप्टाएको एक जना पूर्व डेपुटी गभर्नरको आरोप छ ।
उनले आफन्तलाई बैंक तथा वित्तीय संस्थामा जागिर खुवाउनेदेखि नयाँ कर्जा मिलाइदिन र खराब कर्जाको सेटल गर्न बारम्बार राष्ट्र बैंकका गभर्नर, डेपुटी र कार्यकारी निर्देशकहरुलाई आग्रह र परिआएमा दबाबसमेत दिएको डेपुटी बताउँछन् । केही नलागे सम्बन्धित बैंकमा आफैँ फोन घुमाउँथे । त्यसरी धेरै काम निप्टाएको बैंकका अधिकारीहरुको दाबी छ ।
सबैभन्दा रोचक चाहिँ दुई वर्षअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले निलम्बन गर्दा उनै कर्णको संयोजकत्वमा छानबिन गराइएको थियो । अहिलेकी कायममुकायम गभर्नर तथा डेपुटी निलम ढुंगानाको उक्साहटमा उनै कर्णले श्रेष्ठलाई लगाइएको आरोप पुष्टि गर्न धेरै वटा बैठक राखेर भत्ता असुलेका थिए । तर अर्थमन्त्री खतिवडाको पूर्वाग्रहमा निलम्बित श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ दिए । त्यतिबेला निलम आन्तरिक लेखापरीक्षण विभागकी प्रमुख थिइन् । अहिले कर्ण आफै छानबिनको घेरामा परेका छन् ।
आन्तरिक लेखापरीक्षण विभागको बैठकबारे त्यहाँका कर्मचारी भन्छन्, ‘पहिलेका हाकिम वासुदेव अधिकारी र शिवनाथ पाण्डेले घटाएको बैठक संख्या कर्णले छ महिनामा भ्याएका छन् । पहिले ३५ वटामा झारिएको बैठक संख्या दोब्बर बनाएका छन् । पुस मसान्तम्म ४० पुगेको छ । बाँकी छ महिनामा त्योभन्दा बढी हुने निश्चित छ ।’
टिप्पणीहरू