झापालीबाट फुत्काएर कास्केलीतिर

झापालीबाट फुत्काएर कास्केलीतिर

कोषमा एक रूपैयाँ छैन, संस्था निर्माण हुन सकेको छैन यद्यपि कोही किन १५ वर्षदेखि कब्जा जमाएर बसिरहन चाहन्छ ?

हालै पोखरामा सम्पन्न कांग्रेसनिकट कविको सम्मेलनले झापालीको पकड तोडेको छ । कांग्रेसी लेखक संघलाई यसअघि झापाली लेखक संघको उपनाम दिएर आलोचना गरिँदै आएको थियो ।

यसपटक भने अध्यक्ष चुनिए कास्कीबाट अनि महासचिव बझाङीको पोल्टामा पुगेको छ । उसो त कांग्रेसका कुनै पनि भ्रातृ संगठनको समयमा निर्वाचन भएका छैनन्, लेखक संघ मात्र त्यसबाट अछुत रहने कुरै भएन ।

श्रवण मुकारुङका कारण पनि तीन–तीन वर्षमा सम्पन्न हुनुपर्ने अधिवेशन ६ वर्षसम्म लम्बिएको भन्दै कांग्रेसी कवि आलोचना गर्छन् । यसपटकको महाधिवेशनबाट पोखरेली कवि तीर्थ श्रेष्ठ अध्यक्ष बन्न पुगेका छन्, श्रेष्ठ नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव हुन् ।

र, उपाध्यक्षमा एक जना सरकारी कर्मचारीले हस्तक्षेप गरेको कांग्रेसी कवि सुनाउँछन् । यसरी आफू निकटस्थ रत्नमणि नेपाललाई उपाध्यक्षमा जिताउनका लागि शक्ति र पदको दुरूपयोग गर्ने काजी हुन् कृशु क्षेत्री, परराष्ट्र सेवाका कर्मचारी ।

आफ्नै साथी मनोज न्यौपानेलाई सहिद बनाएर रत्नमणि नेपाललाई उपाध्यक्षमा जिताउन सफल भएको त्यहाँबाट फर्किएका कविहरूले जनआस्थालाई बताए ।

१५ वर्षदेखि संस्था कब्जा गरेर बसेका रत्नलाई जिताउनकै लागि रामलाल जोशीलाई उम्मेदवारीबाटै ब्याक गराउन क्षेत्रीले व्यापक दबाब दिएका थिए । जोशीको कृति ऐनाले ०७२ सालमै मदन पुरस्कार हात पारेको थियो ।

कांग्रेसी कविले रत्नमणिलाई पदलोलुप लेखकको आरोप लगाउँदै आएका छन् । एक जना कांग्रेसी कविले जनआस्थासँग भने, ‘कोषमा एक रूपैयाँ छैन, संस्था निर्माण हुन सकेको छैन ।

यद्यपि कोही किन १५ वर्षदेखि सोही संस्था कब्जा जमाएर बसिरहन चाहन्छ, बुझिनसक्नु छ ? उनै कृशु क्षेत्री हात धोएर लागेकै कारण रत्नमणि निर्विरोध नेतृत्वमा पुगे भने सन्ध्या पहाडी महिला उपाध्यक्षमा चुनिएकी छन् ।

विभाजनबाट जुन संस्था बच्यो

एमाले विभाजनसँगै भएभरका भ्रातृ अर्थात जनवर्गीय संगठन फुटिसकेका छन् । तर एउटा यस्तो संगठन छ, जहाँ आजका दिनसम्म ‘बैरीहरूको आँखा लागेको’ छैन ।

त्यो हो प्रगतिशील लेखक संघ (प्रलेस) । अप्ठ्यारो स्थितिमा जुटेको यो संगठन अहिले पनि सामन्तवाद, साम्राज्यवादविरुद्ध एकताबद्ध छ । ०५६ मा गोविन्द भट्टले एक्लै चलाए, अहिले विप्लव र वैद्य निकटका लेखक समूहमा छैनन् ।

प्रगतिशील लेखक संगठनमा एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, माओवादीनिकट जनसांस्कृतिक महासंघ, नेमकिपाको रक्तिम समूह, सीपी निकट र नेकपा एसनिकट साँस्कृतिक संगठन आबद्ध छन् ।

२००९ असोज ५ मा स्थापित प्रलेशको सातवटै प्रदेशको अधिवेशन सर्वसम्मतिबाट टुंगिएको छ । केन्द्रीय सम्मेलन भने यही २५ र २६ गते हुँदै छ ।

उता, ओलीनिकट राष्ट्रिय जनसाँस्कृतिक महासंघको हालै चितवनमा सम्पन्न महाधिवेशनमा पोखरामा सम्पन्न प्रेस चौतारी र काठमाडौं कार्की ब्यांकेटमा सम्पन्न कर्मचारी संगठनको निर्वाचनमा झैँ टीका लगाएर नेतृत्व चयन टुंग्याइएको छ ।

टिप्पणीहरू