राजदरबारपछाडि १५ सयमा घर !

राजदरबारपछाडि १५ सयमा घर !

-अधिवक्ता प्रेमराज सिलवाल

काठमाडौंको नारायणहिटी राजदरबारपछाडि धोबीले लुगाकपडा धुने धोबीचौर छ । नागपोखरीभन्दा केही अगाडि । त्यहीँ बस्छन्– एक जना ९० वर्षीय । चार आना दुई पैसा जग्गामा उनले ६ दशकअघि १५ सय खर्चेर घर निर्माण गरेका हुन् ।

भन्छन्, ‘यो जग्गा छिमेकीसँग खरिद गरेको हुँ ।’ ‘साँझ परेपछि सुनसान हुन्थ्यो । खेत, खोला, पोखरी, झाडी, खहरे, खाडल र भङ्गालबाहेक काठमाडौंमा केही थिएन । केही पाखो बारी थिए भने केही मात्रामा धान र तरकारी खेत ।’ उनी स्मरण गर्दै भन्छन्, ‘गाईवस्तु चराउने र घाँस काट्ने स–साना वन र बुट्यान थियो ।’

‘साँझ परेपछि स्याल हुँहुँ गर्दै कराउँथे । बच्चाबच्ची डराएर घरबाट निस्कँदैनथे ।’ ७–८ दशकअघि काठमाडौंको राजदरबार, ठमेल, लाजिम्पाट, कमलपोखरी, महाराजगञ्ज तथा आसपासका अवस्थाको बयान गर्दै स्थानीय वृद्धले भने, ‘पहिलेको कुरा गर्दा र सम्झँदा सपनाजस्तो लाग्छ ।’

सस्तोमा पाएका बेला प्रशस्त जग्गा किन्नुपर्ने नि ! भन्ने पंक्तिकारको सवालमा उनले आफ्नो तलब र कमाइको चर्चा गरेका छन् । ‘राणाजी र राजाकोमा काम गरेबापत ४ पैसादेखि ५ पैसा महिनाको दिन्थे ।’

आफ्नै लवजमा अगाडि भने, ‘अहिलेजस्तो बोर्डिङ स्कुल भन्ने त्यो बेला छैन, टिभी, रेडियो र पत्रिका छैन । राणा, राजा र ठूलाबडाकोमा गोरखापत्र भन्ने पत्रिका आउँथ्यो । रेडियो नेपालले भजन, समाचार र राजाको गुणगान मात्र गाउँथ्यो । गाडी चढेर हिँड्ने भन्ने नै छैन । घरबस्ती पातलो भएका कारण सडकमा मान्छे देख्नै मुश्किल छ । आजजस्तो कालो सडक छैन, सडकमा हिलो र धुलो मात्र छ ।

कुनै दन्त्य कथाझँै लाग्ने ऊबेलाको काठमाडौं शहरको कुरा गर्दा आजको समाज र शहरिया मानिसलाई अचम्म मात्र लाग्दैन विश्वासै नलाग्ने अवस्था छ । करोड घटीका घर वा जग्गा खरिद गर्न काठमाडौंको चक्रपथबाहिर मात्र होइन पूरै भित्तैमा पुग्नुपर्ने अवस्था छ ।

सबैजसोको मनमा आउने गर्छ, ‘त्यति सस्तो बेला किन काठमाडौंमा घर जग्गा किन्न सकिएन ?’ मानिसहरू सिधै बोलिदिन्छन्–‘त्यस्तो सस्तो कालमा धेरै जग्गा किन्नुपर्ने !’ त्यही काठमाडौं शहर हो जहाँ ग्यासमा खाना पकाउनेको ठूलो चर्चा हुन्थ्यो । ३ दशकअघि खानेपानीको लागि मिनरल वाटर बजारबाट ल्याएर खाने (पिउने) लाई सम्पन्नमा गनिन्थ्यो ।

२०४२–४३ सालतिरकै कुरा हो, कोठामा कालो टेलिभिजन भएको घरबेटी वा धनीकोमा गई हिजोआजका कुरा र रामायण हेर्न आउनेहरूले भन्ने गर्थे–‘फलानाको घरमा टिभी पनि राखेको छ, कति धनी हो ?’ ०५५ सालसम्म पनि एकलाइन ल्याण्डलाइन फोन लिन मन्त्रीको तोक चाहिन्थ्यो । मानिस आफ्नो नाममा फोन लिएर व्यवसायीलाई १ लाखसम्म वा बढीमा पनि बिक्री गर्थे ।

पछि पेजर आयो । घण्टी बजाएर पेजर वाहकले पछि पुनः सम्पर्क गर्न खोज्नेलाई फोन गरी किन–कसले गरेको हो ? सोधी–खोजी गर्नुपर्ने अवस्था थियो । मानिसहरू कम्मरपेटी (कम्मरमा) पेजर देखाएर शानको अनुभूति गर्थे ।

शहरबजारमा भाडामा हिन्दी, अंग्रेजी र नेपाली फिल्मको चक्का लिने र हेरेपछि लगी बुझाउने संस्कृतिजस्तै थियो । दुग्ध विकास संस्थानको दूध लिन काँचको लामो खाली सिसी बोकी जानुपथ्र्याे । त्यो दिएपछि नयाँ सिसीमा दूध किन्न पाइन्थ्यो । शहरबजारमा आजकल यस्ता कुरा दन्त्यकथा जस्तै लाग्छ ।

ग्यासको प्रचलन नभएको बेला शहरबजारमा भुसे चुली भन्ने हुन्थ्यो । त्यो चुलीमा भुसमा आगो लगाएपछि लामो समय लगाएर खाना पकाउने गरिन्थ्यो । अधिकांशको घरमा दाउराकै चुलोमा खाना पाक्थ्यो । बाहुन र पुरेत खलकमा धोती फेरेरै पकाउने र खाने प्रचलन काठमाडौंमा पनि थियो ।

सक्नेले त्यसका लागि गाउँबाट भान्छे बाहुन मगाएर ल्याउँथे । भुसे चुली राख्नेहरू त्यतिबेलाका धनी र घरानियाँ कहलिन्थे । दाउराको भान्छाबाट भुसेचुलीमा पुग्नु पनि त्यो समय आधुनिकताको एक फड्को थियो ।

पछि स्टोभको प्रचलन आएपछि मानिसहरू मट्टीतेल लिन लाइन लाग्न थालेको देखियो । ५ लिटरको जर्किन लिएर तोकिएको पसलमा लाइन बसेपछि मट्टीतेल पाइन्थ्यो । जहिल्यै र जति पनि मट्टीतेल नपाइने भएकाले तोकिएको दिन, तोकिएको व्यक्ति वा कुपनवाला गएपछि पाउने प्रबन्ध गरिएको हुन्थ्यो ।

यो तरिका र प्रचलन २०४६ को प्रजातन्त्रपछिका समयमा पनि केही वर्षसम्म काठमाडौं उपत्यका र शहरमा चल्यो । भान्छामा प्रेसर कुकर हुने पनि एक हिसाबले धनी हो भन्ने सोचिने समय थियो । मट्टीतेलको लागि लामो लाइनमा बस्ने कुराचाहिँ काठमाडौंको एउटा बाध्यकारी संस्कृति र आमदैनिकीजस्तै भएको देखिन्थ्यो ।

साइकल चढेर सिंहदरबार, राजा–राणाकोमा वा बैंक वा सरकारी वा कार्यालयमा जानेलाई आममानिस पञ्चायतकाल र त्यसअघिसम्म ‘हाकिम साहेब’ सोच्थे । चाहे ऊ कार्यालयको पियन नै किन नहोस् ! साइकलमा कार्यालय गएपछि हाकिम नभए साइकल कसरी पाउँथ्यो भन्ने आमसोचाइ हुन्थ्यो ।

समय, समाज, मानिसका आवश्यकता, विज्ञान र प्रविधि, विश्वव्यापीकरण, आधुनिकता र बजार यी सबै निरन्तर परिवर्तनशील छन् र हुन्छन् । जतिबेला दाउराको धँुवामा खाना पकाउनुपर्ने अवस्था थियो त्यतिबेला आएको भुसेचुली एक अर्थमा सुविधासम्पन्न र आधुनिक प्रविधि नै हो । शासकले आफ्ना मुखियामार्फत आदेश जारी गर्ने र कटुवालले कराएर नागरिकलाई सूचित गर्ने समयमा आएको हुलाकको प्रविधि पनि त्यो बेला आधुनिक र महत्वपूर्ण परिवर्तन बन्न पुग्यो ।

मोबाइल नहुँदा पेजर एक अर्थमा आधुनिक र उत्कृष्ट प्रविधि भइदियो । आय–आम्दानी र खर्च, आधुनिक वस्तु र सेवाको प्रयोग, सामाजिक व्यवहार र तरिका आदिको तुलनात्मक विश्लेषण र विवेचना गरी इतिहासको अध्ययन तथा चर्चा गर्दा तत्कालीन समाज, त्यतिबेलाको उपलब्धता, मानिसका चेतना र आवश्यकता आदिलाई विचार गरेरै बुझ्नुपर्ने हुन्छ । अर्थात् आजको समाज र समयलाई हेरेर त्यो बेला किन त्यति पनि भएन भन्नु अन्याय हुन जान्छ ।

आज आधुनिकताको पनि उच्च स्तरको प्रविधि तथा अवसरका अनेकौं सम्भावना भएको काठमाडौं शहर खासमा त्यही भुसे चुली, स्टोभ, साइकल, हिलोधुलो र पेजर आदिको जगमा अघि बढ्दै आएको हो । आज घरमै बसीबसी एक क्लिक हानेपछि नहुने कुरा सम्भवतः केही छैन । क्लिक गरेकै भरमा भोक लाग्दा घरको गेटमा पाकेको जुनसुकै परिकार आइपुग्छ ।

सेकेण्डमै युरोप–अमेरिकामा प्रत्यक्ष कुरा गर्न मिल्छ । सेकेण्डमै हजारौं माइल टाढाको मुलुकबाट एक क्लिकमै पैसा आइपुग्छ । तसर्थ आजको समाज, शहर, समय र पुस्ता आधुनिकताको पनि चरमचुलीमा हिँडिरहेको छ । सम्भवतः अबको ४–५ दशकपछिको पुस्ता र समाजको लागि आज भए गरिएका प्रयोग, प्रविधि, मानवीय व्यवहार र संस्कृति पनि उही उल्लिखित वृद्धको भनाइजस्तै अनौठो र अचम्मलाग्दो नहोला भन्नचाहिँ सकिन्न ।

जसरी अहिलेको समाज र पुस्तालाई ती स्थानीयको कुरा, धारणा, विचार र अनुभव अपत्यारिलो र अचम्मलाग्दो भएको छ । आजको सामाजिक मनोविज्ञान, अवस्था र समयबाट त्यो बेलाको समाज, अवस्था र संस्कृतिलाई समान ढंगले विश्लेषण गर्नु सान्दर्भिक पनि हुन्न । यदि, त्यसो गरियो भने हामी फेरि उही ठाउँमा पुग्नेछौं र भन्नेछौं, ‘१५ मा जग्गा किन्न पाउने समयमा ती स्थानीयले किन पूरै पाखो र खेत खरिद नगरेका होलान् ? म भएको भए त त्यो नारायणहिटी पछाडिको पूरै खेत आफ्नो बनाउने थिएँ ।’

मानिसको आमसोचाइ, धारणा र भनाइ यसअघि भएको भए मैले यो–त्यो गर्न सक्थेँ, तर आज त त्यो अवस्था छैन भन्ने गुनासो जहिल्यै हुने गरेको देख्न र सुन्न पाइन्छ । घर जग्गाको सम्बन्धमा सर्वाधिक बढी भनाइ शहर बजारमा सुनिन्छ । कोठामा बस्नेलाई घरको महत्व थाहा हुन्छ ।

विशेषगरी लामो समय भाडाको कोेठामा बसेकालाई काठमाडौं शहर र उपत्यकामा एउटा जग्गा र घर बनाउने ठूलो सपना हुन्छ र छ । त्यो पहिले थियो, आज छ र भोलि पनि हुने नै छ ।

‘पहिले जस्तो सस्तो काल भएको भए पो घर जग्गा किन्न सक्नु !’ ‘आज (अहिले) त महँगीले आकाश छोएको छ । अब कुन पैसा र आम्दानीले नयाँ जग्गा र घर किन्नु ?’ सायद त्यो बेला नारायणहिटी पछाडिका उनलाई रु. १५ मा जग्गा किन्दा पनि त्यस्तै महङ्गो नै लागेको थियो होला ! शहरिया समाज, बजार, आधुनिकता, समय, मानिसका आवश्यकता, नयाँ कुरा, आविष्कार र सामाजिक संस्कृति गतिशील र अविराम ढंगले निरन्तर अघि बढिरहने कुरा हो ।

जहिल्यै मानिसलाई साधन–स्रोतको अपुग हुन्छ । जहिल्यै मानवीय चाहना र आवश्यकता अतृप्त रहन्छ । सम्भवतः यही जीवनको सत्य हो । यही मानव जीवन र समाज हो । यही मानवीय भावना र आकांक्षाले नै मानवले अनेकौं वस्तु र सेवाको नयाँ–नयाँ आविष्कार गर्दै आएको पनि हो । आज एउटा कोठा ६ हजारमा भाडामा लगाउने नारायणहिटी पछाडिका उनीसँग त्यो काल र समय छैन ।

वर्तमान समय र काल सुहाउने पैसा पनि छैन । रु. १५ मा जग्गा किन्ने उनलाई आज पनि अभावै छ पैसाको । सायद आजको जति पैसा उपलब्ध भएको भए त्यो समयमा उनले पनि पूरै पाखो किन्ने पो थिए कि ?

टिप्पणीहरू