सानेपा घेर्न पोखराका काँग्रेसी काठमाडौँ आए

सानेपा घेर्न पोखराका काँग्रेसी काठमाडौँ आए

गठबन्धन गरेर चुनावमा जाँदा पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की काँग्रेसका नेताहरू पार्टी नेतृत्वलाई दबाब दिन काठमाडौं आइपुगेका छन् । पोखराको मेयर आफैंले पाउनुपर्ने मागसहित केन्द्रीय नेताहरुलाई खबरदारी गर्न काँग्रेसको टोली पोखराबाट काठमाडौं झरेको हो ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भोलि भेटेर पोखराको जनमतबारे स्पष्ट पार्ने टोलीको तयारी छ । ‘अहिलेसम्म निर्णय भएको छैन । काँग्रेसबाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडौं पुगेका हौं,’ कास्की सभापति किशोरदत्त बरालले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन् । अरुलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’

डेढदेखि दुई सय जना नेता–कार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । ‘गठबन्धन गर्ने निर्णय ठिकै छ । तर, जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेको हो । जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छाडेर जान सक्ने अवस्थामा छैनौं । डालाको चामल मानामा खन्याउँदा पोखिन्छ । मानोको चामल डालोमा हाल्दा ठीक हुन्छ । पोखरामा काँग्रेस डालो हो, अरु माना हुन् ।’

उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ । केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा एकीकृत समाजवादीको भागमा पर्नसक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भने भइसकेको छैन ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले एमालेसँग हारेका थिए । तर, अहिले एमाले फुटेकाले काँग्रेस एक्लैले पनि जित्ने सकिने दाबी पोखरेली काँग्रेसहरुको छ । यसअघि भरतपुरको मेयर दाबी गर्न चितवन काँग्रेसको टोली पनि यसैगरी काठमाडौं आएको थियो ।

टिप्पणीहरू