कमल थापाको चुनाव चिन्ह पनि एमालेकै सूर्य
पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने घोषणा गर्दै आएको नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने भएको छ । एमाले पार्टी कार्यालय थापाथलीमा आज शीर्ष नेताहरूको उपस्थितिमा उसेले राप्रपासँग तालमेल गर्ने सहमति गरेको हो ।
पाँच बुँदे सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार देशभरका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राप्रपाले आफ्नो उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले पनि राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने उल्लेख छ ।
सहमति कार्यान्वयनका लागि दुवै पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गरेर आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने भनिएको छ । दुवै दलको साझा चुनाव चिन्हको रुपमा सूर्य रहने सहमति भएको छ ।
हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू