चुनावमा स्वतन्त्र भूमिका खेल्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह
प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चारमाध्यमहरुलाई चुनावमा स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आज काउन्सिलले स्वतन्त्र रहन आग्रह गरेको हो ।
पत्रकार आचारसंहिता २०७३ को पहिलो संशोधन २०७६ तथा निर्वाचन आचारसंहितालाई सम्झाउँदै आ–आफ्ना सञ्चारमाध्यमबाट स्वतन्त्र भूमिका खेल्न, कुनै दल तथा उम्मेदवारलाई होच्चाएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न, प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा अपिल गरिएको हो ।
पत्रकार र आमसञ्चार माध्यमहरु पत्रकार आचारसंहिताप्रति सजग रहनुपर्ने बताउँदै काउन्सिलले गरेको अपिलमा चुनावको समयमा अझ बढी संवेदनशील र सन्तुलित भएर मात्र समाचार, विचार, विज्ञापन सम्प्रेषण गर्नुपर्ने उल्लेख छ । निर्वाचनका समाचार सम्प्रेषण गर्दा गलत, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरु सम्प्रेषण हुन सक्नेतर्फ पनि सजग रहन आग्रह गरिएको हो ।
विगतका निर्वाचनहरु सफल बनाउन आमसञ्चार माध्यमहरुले अहम् भूमिका खेलेको र यसपटक पनि त्यस्तै अब्बल भूमिका देखिने विश्वास काउन्सिलको रहेको उप–प्रशासकीय अधिकृत रामशरण बोहराद्धारा जारी अपिलमा उल्लेख छ ।
सरकारले आउँदो बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचन मिति तोकेको छ ।
टिप्पणीहरू