बलात्कारी अध्यक्षलाई एमाले अध्यक्षद्वारा स्वागत
बलात्कार आरोपबाट थुनामुक्त भएका सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । इनरुवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई हिजो एमाले प्रवेश गराउनुभएको हो ।
धरान १३ स्थित डुकु होटल एण्ड लजको कोठामा युवतीलाई बलात्कार गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको थियो । २०७८ वैशाख ८ गते पक्राउ परेका उनी मंसिर २६ गते आइतबार आठ महिनापछि थुनामुक्त भएका हुन् । अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै होटलमा लगेर खाजा खुवाउने बहानामा जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यसअघि यादव संघीय समाजवादी फोरमबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । हालको जनता समाजवादी पार्टीका प्रभावशाली नेता मानिएका उनी एमाले प्रवेश गरेर पुनः अध्यक्ष बन्ने लाइनमा बसेको बताइन्छ ।
पार्टी प्रवेश गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले गरिब र मधेसी जनताको पार्टी भएको बताउनुभयो । गठबन्धन सरकारको व्यवस्थापकीय क्षमता कमजोर भएका कारण अर्थतन्त्र धरापमा परेको उहाँको आरोप छ ।
उता पार्टी प्रवेश गरेसँगै यादवले एमाले भविश्य बोकेको पार्टी भएको बताए । विभिन्न जाति र जनजातिको प्रतिनिधित्व गराउन सक्ने पार्टी एमाले मात्रै भएको भन्दै उनले पार्टी प्रवेश स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू