दास हत्याका आरोपी ४ महिनापछि समातिए
कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
गत पुस ३ गते कैलाली जानकी गाउँपालिका–९, अमरावती सामुदायिक वनमा स्थनीय अर्जुनलाई रूखमा बाँधेर खुकुरी प्रहारबाट घाँटी छिनाली विभत्स तरिकाले हत्या गरिएको थिए ।
उनको हत्यामा संलग्न रहेर फरार सुमित साउद, बमे भनिने बमबहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका–९ कैलाली घर भएका सबै जना १९ वर्षका हुन् ।
भारतमा बस्दा पनि त्यहीँबाट उनीहरुले फेसबुक लाइभमा धम्की दिनेसम्मका हर्कत गरिरहेका थिए । भारतमा रहेकाले नेपाली प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
रूपन्देहीको सिद्धार्थ नगरपालिका–१, बेलहिया सीमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।
कसरी पक्राउ परे ?
हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट उनीहरुले फेसबुक लाइभमा धम्की दिनेसम्मका हर्कत गरिरहेका थिए । भारतमा रहेकाले नेपाली प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो । त्यसपछि खटिएको विशेष टोलीले हिजो दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई आज जिल्ला प्रहरी कैलालीमा बुझाइएको छ ।
कसरी भएको थियो हत्या ?
घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरिएको थियो । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागूऔषध चोरी गरी जंगलमा लुकाए ।
अर्जुनले मोबाइल चोरेर हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मायाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए ।
पुस २ गते बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भए । सबैजनाले लागुऔषध सेवन गरेपछि कमलको चोरिएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए ।
अर्जुनलाई हातखुट्टा बाँधेर ४–५ घण्टा राखेपछि सबैजनाको मार्ने योजनाअनुसार सुशील मायालुले खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा फालेर सबैजनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए ।
भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागे । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भने भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।
टिप्पणीहरू