नयाँ वर्षको पहिलो दिन कुलमानसँग स्पष्टिकरण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई नयाँ वर्षको पहिलो दिन स्पष्टिकरण सोधिएको छ । निर्वाचन आयोगले कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेजमार्फत् हिजो बिहान सार्वजनिक गरिएको चुनाव प्रचार सामग्रीमा घिसिंगको फोटोसमेत समावेश गरेपछि आयोगले स्पष्टिकरण सोधेको हो ।
निजामती र सरकारी संघ, संस्थाका कर्मचारीले राजनीतिमा संलग्न हुन नपाउने कानुन भएकाले घिसिंगलाई स्पष्टिकरण सोधिएको बताइएको छ । माओवादीले मुलुकबाट लोडसेडिङ हटाएको जस अर्थमन्त्री तथा तत्कालीन जलस्रोत मन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिंगलाई दिएर उक्त पोष्टर बनाएको हो ।
तर, चौतर्फी आलोचना भएपछि हिजो दिउँसो नै उक्त पोष्टरबाट घिसिंगको तस्बिर हटाइएको छ ।
टिप्पणीहरू