मरिसकेका जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

मरिसकेका जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित एक दर्जनबढी जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा मुछिएका छन् । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृतलगायतविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो ।

अख्तियार दुरूयोग अनुसन्धान आयोगले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको र आर्थिक अनियमितता देखिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यवाहक अध्यक्ष पूजादेवी बुढामगर, वडा नम्बर २ का वडाध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडाध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरीले भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । साथै गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईसमेत यो काण्डमा मुछिएका छन् ।

उनीहरुले गाउँ कार्यपालिकाबाट निर्णय गरी ठेकदारलाई रकम मिनाहा गरेको र त्यसको मूल्य अभिवृद्धि करवापतको रकम समेत गरि जम्मा ५४ लाख १८ हजार ५६८ रूपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारले जनाएको छ । उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँ बिगो कायम गरी सजाय गर्न र जरिवानाको माग गरिएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाहलाई पनि कारबाही गर्न अख्तियारको माग छ ।

गाउँपालिका अध्यक्ष रावलको मृत्यु भइसकेको छ । तर मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकाले प्रचलित कानुनबमोजिम उनको हक खाने अंशियारबाट बिगो असुलउपर गर्न माग गरिएको बताइएको छ ।

टिप्पणीहरू