ग्याँस भर्ने क्रममा सिलिण्डर पड्कियो, एक भारतीयको मृत्यु, ६ जना घाइते (नामसहित)
ललितपुरको पाटन औधोगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परि भारतीय नागरिक बृजमोहन महत्तोको मृत्यु भएको हो ।
नारायण तिमिल्सिनाले संचालन गरेको अक्सिजन प्लान्टमा कार्यरत भारतको बिहार राज्यका ४५ वर्षीय महत्तोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बिस्फोटमा परि ६ जना घाइते भएका छन् । जसमध्ये २५ वर्षीय राजकुमार महत्तो गम्भीर घाइते छन् । प्लान्टमा कार्यरत २० वर्षकी अञ्जना पौडेल, ४३ वर्षीय रमेशकुमार अधिकारी, २० वर्षीय ईश्वर वजगाँईको, ३६ वर्षका दुर्गा पुरी र १९ वर्षका सुदीप तिमल्सेना घाइते भएको प्रहरीले बताएको छ । उनीहरु सबै सामान्य मजदुर रहेको बुझिएको छ ।
घाइतेहरुको पाटन अस्पताल र विएण्डबि अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरीले जनाएको छ ।
अक्सिजन ग्याँस भर्ने क्रममा आज बिहान १० बजे उक्त बिस्फोट भएको हो । बिस्फोटबाट झन्डै २५ करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार बिस्फोटपछि सिलिन्डर उछिट्टिएर ५० मिटर परसम्म पुगेको थियो । एउटा सिलिण्डर प्रगति रत्न शाक्यले सञ्चालन गरेको नेपाल ढलोट उधोगको तेस्रो तल्लासम्म पुगेको र करिब डेढ लाखको क्षति पुर्याएको बताइएको छ ।
नेपाल प्रहरीको विपद् उद्धार टोलीले मृतकको शव निकाल्न शुरु गरेको छ ।




टिप्पणीहरू