छिमेकतिर कोरोना बढेपछि सरकारी सूचना जारी
बिस्तारै सेलाउँदै गएको कोभिड–१९ महामारीले छिमेकी मुलुकमा पुनः आतंक मच्चाउन थालेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आज मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा कोरोना संक्रमण बढ्दो गतिमा रहेकाले सजगता अपनाउन भनेको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राका अनुसार नेपालमा कोरोना संक्रमण संख्यात्मक रुपमा कम भएको देखिए पनि जोखिम कायम छ । सरकारले महामारी रोकथामलाई उच्च प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्दै आएको उनको भनाइ छ । विज्ञप्तिमा संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न पनि आग्रह गरिएको छ ।
जनस्वास्थ्यका मापदण्डहरुको पूर्णपालना गर्न, पूर्णमात्रा खोप लगाउन र पूर्णमात्राको खोप लगाएको तीन महिनापछि बुस्टर डोज लिन पनि मन्त्रालयले आग्रह गरेको हो । हाल भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा पर्न थालेका छन् । उता चीनको व्यापारिक केन्द्र सांघाई लगायतका ठूला सहरमा पनि संक्रमण उच्च देखिएको छ ।

टिप्पणीहरू