अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै उत्तर कोरियाले भन्यो: परमाणु हतियार बढाइन्छ

अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै उत्तर कोरियाले भन्यो: परमाणु हतियार बढाइन्छ

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले परमाणु हतियारको संख्या अझै बढाउने घोषणा गरेका छन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा राजधानी प्योङ्याङमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले आफ्नो मुलुकको अस्त्रभण्डारलाई अझ बलियो बनाउने घोषणा गरेर विश्वलाई बेग्लै खालको सन्देश दिएका हुन् । ‘हामी तीव्र गतिमा मुलुकको पारमाणविक क्षमता सुदृढ तुल्याउन आवश्यक कदम चालिरहने छौँ,’ उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धको कुनै मतलब छैन । किनकि यो हाम्रो मातृभूमि रक्षाको निम्ति चालिएको कदम हो ।’

सैनिक परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) पनि देखाइएको थियो । उत्तर कोरियाले गत मार्च महिनामा हालसम्मकै सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको हो । परमाणुअस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रले संयुक्त राज्य अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको छ । प्रदर्शनमा ध्वनीको गतिभन्दा छिटो प्रहार गर्ने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू पनि देखाइएको थियो ।

समाचार, फोटो : विभिन्न एजेन्सी/रोयटर्स

टिप्पणीहरू