चुनावी झमेलाले अन्तत: विप्लव पार्टी फुट्यो

चुनावी झमेलाले अन्तत: विप्लव पार्टी फुट्यो

चुनावमा सहभागितालाई लिएर चर्को विवादमा फसेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा फुटेको छ । पार्टी नीतिविपरित बोलेको भन्दै सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्कोटा कन्चन र हेमन्तप्रकाश वली सुदर्शन कारवाहीमा परेपछि विप्लव समूह विभाजनमा पुगेको हो ।

चुनावमा जाने कि बहिष्कार भन्ने विवादले पछिल्लो समय विप्लव समूहमा चर्को अन्तरकलह थियो । संसदवादका विरुद्ध संघर्षमा उत्रिएको भनेको पार्टी अन्तत: चुनावकै कारण विभाजनमा पुगेको छ ।

विप्लवले आज विज्ञप्ति जारी गर्दै पार्टी निर्णय विपरित गतिविधि गरेको आरोपमा सुदर्शन र कन्चनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको घोषणा गरेका छन् । आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लवपक्षीय नेताहरुको बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो, सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ’, विप्लवले विज्ञप्तिमा भनेका छन्।

सुदर्शन र कन्चनले विभिन्न तत्वहरुको उक्साहटमा अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधि गरेका कारण यो निर्णय गर्न बाध्य भएको विप्लवको विज्ञप्तिमा भनिएको छ ।

यसअघि चुनावमा जाने विप्लवको निर्णयलाई चुनौती दिँदै बाँस्तोलाले उम्मेद्वारी फिर्ता लिन पार्टीका उम्मेदवारहरुलाई निर्देशन दिएका थिए । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।

गत चैतमा कपिलवस्तुमा सम्पन्न विप्लव समूहको आठौँ केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचन उपयोग गर्ने प्रस्ताव पेश गरेका थिए । तर,असहमतिको स्वर आएपछि उक्त प्रतिवेदन संशोधनसहित पास भएको थियो ।

बाँस्तोलासहित अर्का सचिवालय सदस्य हेमन्तप्रकाश वलीलगायत दर्जन केन्द्रीय सदस्यहरु चुनावमा जाने विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।

टिप्पणीहरू