पहिले १ सय ८० सिट भुस, यसपालि कति ?
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारविरुद्ध दिइएको उजुरी उपर छानबिनको प्रक्रिया शुरु भएको छ । कतिपय जिल्लाबाट निर्विरोध निर्वाचित भएका खबरहरु पनि आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट उम्मेदवार भएका दुई गाउँपालिकाका अध्यक्षहरुले निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरु डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना र छार्काताङसोङ गाउँपालिकाका सेनाङ गुरुङ रहेका छन् ।
यसरी निर्विरोध निर्वाचित भइरहेको खबर बाहिरिँदा निर्वाचनमा उम्मेदवार नपाउने कतिपय गाउँपालिकाहरुको भने कुनै खोजखबर भएको छैन । निर्वाचन आयोगले सूचना व्यवस्थापन र वितरणलाई समयमै अद्यावधिक गर्न नसकेकाले गर्दा यस्तो अवस्था आएको हो ।
यसअघि सम्पन्न स्थानीय तहको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत तीन चरणमा सम्पन्न भएको थियो । २०७४ वैशाख ३१, असार १४ र असोज २ गते भएको निर्वाचनमा एक जना वडा अध्यक्ष, एक सय ७६ दलित महिला वडा सदस्य, एक जना महिला वडा सदस्य र दुई अन्य सदस्य गरी कुल एक सय ८० पदमा उम्मेदवारी नै नपरी खाली रहन गएको थियो ।
नो भोटको कारण नभएर उम्मेदवार हुने जनप्रतिनिधिको अभावमा ती पदहरु खाली हुन पुगेका थिए । यस पटकको निर्वाचनमा छ वटा महानगर, ११ वटा उपमहानगर, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिकामा जम्मा ३५ हजार दुई २१ जना जनप्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था छ ।
जसमध्ये महानगर प्रमुख र उपप्रमुख गरी १२ जना, उपमहानगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा ११ जनागरी २२ जना निर्वाचित हुनेछन् भने दुई सय ७६ नगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच सय ५२ जना र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी नौ सय २० जना निर्वाचित हुनेछन् । त्यसैगरी छ हजार सात सय ४३ वडाध्यक्ष, महिला सदस्य र दलित महिला पनि त्यही संख्यामा हुनेछन् ।
वडा सदस्यहरुको संख्या १३ हजार चार सय ८६ हुनेछ । पाँच वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा ७४ दशमलव ५३ प्रतिशत मतदाताले भाग लिएका थिए । त्यसैगरी १८ वटा राजनीतिक दलहरुको सहभागिता थियो ।
टिप्पणीहरू