काँग्रेस महामन्त्री थापाको ‘ट्युन चेञ्ज’
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् छ । निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन भनेका हुन् ।
आज राजधानीमा आयोजत एक कार्यक्रममा बोल्दै थापाले, ’गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्छ । पार्टीको निर्णयलाई सबैले सम्मान गर्नुपर्छ । त्यसैले म देशभरका नेता कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्छु ।’
चुनावमा पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनको जिकिर छ । साथै, बागी उम्मेदवारी दिनेहरुको असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी आफूले लिने उनले प्रतिबद्धता पनि जनाएका छन् ।
महामन्त्री थापाले आफूले यसअघि चुनावी तालमेलको विषयमा फरक मत राखे पनि अहिले पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको चुनावी तालमेलविरुद्ध काँग्रेसका धेरैजसो जिल्ला तहका नेता तथा कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् ।
टिप्पणीहरू