बागीलाई मनाउन देउवाका दूत पुगे चितवन
नेपाली कांग्रेसको असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन जानुभएको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनलाई मनाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको दूत बनेर खाँण भरतपुर पुग्नुभएको हो ।
सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । गृहमन्त्रीले काँग्रेस पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग पनि छलफल गर्नुहुने छ । त्यसपछि बागी उम्मेदवारी हालेका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपलचोक जाने कार्यक्रम छ ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता-कार्यकर्तालाई सम्झाउन आएको बताउनुभयो । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’
‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्तिसङ्ग संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’,
‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्तिसङ्ग संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, गृहमन्त्रीले थप अगाडि भन्नुभयो, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ उहाँले गठबन्धनका कारण मतदाता नगुम्ने पनि दाबी गर्नुभयो ।
बागी उम्मेदवारले १६ वैशाखसम्म मनोनयन फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने र फिर्ता हुने गृहमन्त्री खाँणको विश्वास छ ।
टिप्पणीहरू