वडा अध्यक्षका माओवादी उम्मेदवारसँग झण्डै ४ करोडको सम्पत्ति
स्थानीय तह निर्वाचनको निम्ति वडा अध्यक्षको उम्मेदवार बनेका रुकुम पश्चिमका एक जनासँग तीन करोड बढी सम्पत्ति देखिएको छ । नेकपा माओवादीको तर्फबाट उठेका रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ नम्बर वडाका उम्मेदवार दलबहादुर खड्काले आफ्नो नाममा रहेको चल अचल सम्पत्तिको विवरण सार्वजनिक गरेर उक्त जानकारी दिएका हुन् ।
निर्वाचन जितेपछि सार्वजनिक पद धारण गर्नुपर्ने भएको हुँदा आफूले हालसम्मको सम्पत्ति सार्वजनिक गरेको खड्काले बताए । उनीसँग रहेको चलअचल सम्पत्ति तीन करोड ८२ लाख ९० हजार रुपैयाँ छ । त्यसमा ८१ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ । ऋण कटाएर आफूसँग तीन करोड ११ लाख ९० हजारको खुद सम्पत्ति रहन आउने उनले जानकारी दिए । विभिन्न व्यवसाय,सेवाबाट कमाएको, पुर्ख्यौली गरी उक्त सम्पत्ति हुन आएको उनको भनाइ छ ।
उनको सम्पत्तिमा एक करोड २० लाख बराबरका दुई वटा घर, एक करोड ३० लाखको जग्गा, एभरेष्ट बहुसेवा प्रालिमा ३० लाख रुपैयाँको शेयर देखिन्छ । फेडरल बहुसेवा सूचना प्रविधि इन्भेष्टमेन्ट प्रालि र कृषि फार्ममा २४ लाखको शेयर, एभरेष्ट बहुसेवा सूचना प्रविधि इन्स्टिच्युटमा पाँच लाख रुपैयाँको शेयर रहेको उनले जानकारी दिएका छन् ।
डिग्रे साईकुमारी सहकारीमा ६० हजार बचत, हाम्रो बचत सहकारी संस्थामा एक लाख ८० हजार रुपैयाँ उनको बचत रकम देखिन्छ । विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुमा एक लाख ५० हजार शेयर, १० लाखका सुन तथा गहना र विभिन्न बीमा कम्पनीहरुमा प्रिमियम भुक्तानीका लागि २० लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उम्मेदवार खड्काले आफूले जितेपछि प्राप्त हुने सेवा सुविधा वडामा सामाजिक सुरक्षाकोष स्थापना गर्ने र सबै सुविधा कोष मार्फत खर्च गर्ने योजना रहेको सुनाए । कोष सञ्चालनको जिम्मा विपक्षी पार्टीलाई दिने पनि उनले बताएका हुन् ।
निर्वाचित भएपछि आफ्ना परिवारका कोही कसैलाई पालिकामा जागिर नखुवाउने वचन दिएका छन् । परिवारका सबै सदस्को आयस्रोत समेत देखाउँदै उनले आफू नितान्त सामाजिक सेवामा क्रियाशील रहने बताएका छन् । निर्वाचित भएको अवस्थामा पाँच वर्षपछि कार्यकाल सकिने समयमा पनि आफूले यसैगरी सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पैसा हुँदैमा आफूले निर्वाचनका क्रममा समेत तडकभडक, अनावश्यक खर्च नगर्ने खड्काले बताएका छन् ।
टिप्पणीहरू