राष्ट्र बैंकको ‘भात’ मा ढुंगा
नेपाल राष्ट्र बैंकले आज ६७ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय, बालुवाटार हातामा र उपत्यका बाहिर सम्बन्धित कार्यालयमा मनाइएको हो ।
बालुवाटारमा आयोजित कार्यक्रममा भूतपूर्व गभर्नर, डेपुटी गभर्नर,अधिकृत विशिष्ट र अधिकृत प्रथम श्रेणीका कर्मचारीलाई बोलाइएको थियो । कार्यक्रममा पूर्व गभर्नरहरुमध्येबाट डा. तिलक रावललाई सम्मान गरियो भने यसबीच अवकाशप्राप्त अन्य विशिष्ट श्रेणीका कर्मचारीलाई पनि बिदाई गरियो ।
२० वर्ष सेवा अवधि पुगेका एक सय आठ जना कर्मचारीलाई स्वर्ण पदक र ताम्रपत्र दिइएको थियो । साँझ कर्मचारी र पाहुना सबैलाई खाना खुवाउने प्रचलनअनुसार आज पनि त्यसै गरिएको बताइन्छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आज साँझको निम्ति ८ सय प्लेट खानाको अर्डर गरेको थियो । तर,कार्यक्रममा अवकाशप्राप्त धेरै जना कार्यकारी निर्देशक र निर्देशकको उपस्थिति रहेन ।
एक जना निर्देशकले जनआस्थासँगको कुराकानीमा भने, ‘फोन आएन, कार्ड पनि पठाएनन् । वामपन्थी झुकाव भएकालाई छानीछानी खबर नगरिएको तर, प्रजातान्त्रिक हाकिमहरुलाई घरमा कार्ड र मोबाइलमा घण्टी बजाएर बोलाइएको पनि सुनियो । प्रजातान्त्रिकहरुले आफ्नै गोत्रकालाई मात्र खबर गरेजस्तो लाग्यो ।’
यता भूतपूर्व हाकिमहरुलाई खबर नगरिएको भन्ने जनआस्थाको जिज्ञासामा सेवा व्यवस्थापन विभागका एक जना अधिकृतले भने,‘फोन विभागमा आएकी एक जना नयाँ कर्मचारीलाई गर्न लगाइएको थियो । कार्ड सवारी शाखाले जिम्मा लिएको थियो । अरु त जान्ने कुरो भएन । तर पुराना हाकिमहरुले कार्ड र फोन पनि नपाउनुभएको हो भने त्यो भात खाँदा ढुंगा लागेझैँ भयो ।’
कार्ड वितरण गर्ने जिम्मा लिएको सवारी शाखाले भने हाकिमहरुले घर बेचेर हिँडेकाले सम्पर्क गर्न नसकिएको जवाफ विभागलाई दिएको स्रोतले बताएको छ ।
टिप्पणीहरू