गभर्नरको मुद्दा आजै टुंगो लाग्दै
सर्वाेच्च अदालतको अन्तरकालिन अन्तरिम आदेशबाट काममा फर्किसकेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको किनारा लगाउन सर्वाेच्चमा आज बहस हुँदैछ । अधिकारीले दायर गरेको रिटउपर अस्ति न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भएको थियो ।
अस्ति बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएकाले आज पुनः इजलासमा चढेको हो । मुद्दाको आजै किनारा लाग्ने स्थिति छ ।
९ नम्बर इजलासको पहिलो नम्बरमा रहेको उक्त मुद्दा अस्तिकै न्यायाधीशद्वय सपना मल्ल र टंकबहादुर मोक्तानले सुनुवाइ गर्नुहुनेछ । सरकारले चैत्र २५ गते गभर्नरलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् ।
उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश दिएपछि गभर्नर बैशाख ६ गतेदेखि काममा फर्केका हुन् ।
अस्ति मंगलबार गभर्नर अधिकारीको पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गरेका थिए । मध्यान्ह १२ बजेबाट प्रारम्भ भएको बहस साँझ ५ बजेसम्म चलेको थियो । बहसमा नरेन्द्रप्रसाद गौतम, सुरेन्द्र थापा,सुशील पन्त, राधेश्याम अधिकारीदेखि शम्भु थापासम्मले बहस गरेका थिए ।
आजको सुनुवाइपछि यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दिएको अन्तरकालिन अन्तरिम आदेशको निरन्तरता हुने अत्यधिक सम्भावना छ ।

टिप्पणीहरू