बागी झिकेर देश र लोकतन्त्र जोगाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी हालेका काँग्रेसका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन कडा निर्देशन दिनुभएको छ । आज अपिल जारी गर्दै उहाँले पार्टीले उठाएका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा मनोनयनन दर्ता गरेकालाई भोलि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन भन्नुभएको हो ।
मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आकलन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले पार्टीका र गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रियतापूर्वक लाग्न पनि आह्वान गर्नुभएको छ ।
‘देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनुहुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री देउवाले पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन बागी उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।
टिप्पणीहरू