कतै श्रीमती उम्मेदवार कतै भाई, निर्वाचनको संघारमा कार्यकताको लडाईं !
आसन्न स्थानीय तह निर्वाचनका क्रममा नेताहरुले सकेसम्म आफैं उम्मेदवार बन्ने, नभए पदको दुरुपयोग गर्दै कार्यकर्तालाई पेलेर श्रीमती र भाइलाई उम्मेदवार बनाउँदा रुपन्देहीमा आन्तरिक द्वन्द हवात्तै बढेको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट रोमणी पाठक, नारन न्यौपाने, गुणनिधी भण्डारी, हरिलाल पाण्डे प्रवल सम्भावना बोकेका उम्मेदवारका रुपमा रहेका थिए ।
धेरै काँग्रेसीले रोमणी पाठक र नारन न्यौपानेमध्ये एक जनाले मेयरको टिकट पाउने अड्कलबाजी गरिरहेका थिए । पाठक नेपाली काँग्रेसका पुराना र अनुभवी नेता हुन् । न्यौपाने हालका वडाध्यक्ष समेत हुन् । यसैगरी पाण्डे काँग्रेस नगर कमिटीका सभापति पनि हुन् । तर एकाएक गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाई रामकृष्ण खाँणले मेयरका टिकट पाएपछि यतिबेला तिलोत्तमा काँग्रेसमा तरङ्ग सिर्जना भएको छ ।
उम्मेदवारी मनोनयन, दर्ता र दावी विरोधको समय सकिएको छ । तर पनि काँग्रेसजनहरु यतिबेला खुलेर रामकृष्णको प्रचारमा लागेका छैनन् । कतिपय देखाउनकै लागि बाध्यताले लागेको भए तापनि उनीहरुको मनपेट मिलिसकेको छैन । तिलोत्तमामा चर्चा चलेको छ, ‘पार्टीमा मेयर, सांसद सबै दाजुभाइलाई नै चाहिने भए किन हामीले पार्टी राजनीति गर्ने ?
तिलोत्तमा नगरमा एमालेका तर्फबाट वरिष्ठ पत्रकार मोहन चापागार्इंंले उम्मेदवारी दर्ता गराएका छन् । पाँच वर्ष अघिको स्थानीय तहको निर्वाचनमा पनि चापागाईं मेयरको आकांक्षी रहेका थिए तथापि त्यतिबेला बासुदेव घिमिरेले टिकट पाई काँग्रेसकै रामकृष्ण खाँणसँग प्रतिस्पर्धा गरेका थिए । घिमिरेले तिलोत्तमा नगरपालिकालाई यतिबेला देशकै नमूना नगरको रुपमा परिचित गराएका छन् ।
बैशाख ३० गतेको निर्वाचनमा तिलोत्तमाका मतदाताले बासुदेवको कामको निरन्तरता दिन एमालेका उम्मेदवार चापागाईंलाई निरन्तरता दिन्छन् वा क्रमभंगता गर्न खाँणलाई मतदान गर्छन् ? त्यो भने समयले देखाउनेछ ।
यता जिल्लाको ओमसतिया गाउँपालिकामा निर्वाचनकै मुखमा एमाले प्रवेश गरेका उक्त गाउँपालिका अध्यक्ष हिरा केवट राहुलले आफ्नी श्रीमतीलाई उपाध्यक्षको उम्मेदवार बनाएका छन् । रोचक प्रसंङ्ग के छ भने एमालेको तर्फबाट अध्यक्षमा स्वयम् हिरा केवट, उनको कान्छी श्रीमती सिफारिस भएका थिए ।
यसैगरी उपाध्यक्षमा जेठी श्रीमती निर्मला कुमारी निषाद उम्मेदवार सिफारिस भएका थिए । राहुलले सकेसम्म आफूनै अध्यक्षमा दोहरिन चाहन्थे । आफू नदोहोरिएमा जेठी कान्छी श्रीमती जो भए पनि हुने भन्ने न्यूनतम शर्त उनले तेर्साएपछि निर्मला कुमारीले उपाध्यक्षमा टिकट पाएर उम्मेदवारी समेत दर्ता गराएकी छन् ।
पार्टी राजनीति नै नगरेकी, गृहणी निर्मलाकुमारी टिकट पाएपछि ओमसतियामा एमालेमा आबद्ध अखिल नेपाल महिला संघ आबद्ध महिला नेतृहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
सिद्धार्थनगरमा राप्रपाबाट उपमेयरको टिकट विनिता गुप्ताले प्राप्त गरेकी छन् । उनी राप्रपाका नेता अजय गुप्ताकी श्रीमती हुन् । राप्रपाभित्र क्रियाशील धेरै जना महिला नेतृहरु हुँदाहुँदै विनितालाई टिकट दिएपछि उक्त पार्टीका महिला नेतृहरु रिसले आगो भएका हुन् ।
सिद्धार्थनगरमा टिकटककै विषयलाई लिएर काँग्रेसका पुराना तथा पाका नेता मातृकाप्रसाद यादवले पार्टी नै परित्याग गरेका छन् । उनले गृहमन्त्री खाँणले मोटो रकममा जग्गा व्यापारी ईस्तियाक अहमद खानलाई टिकट बेचेको आरोप समेत लगाइरहेका छन् । काँग्रेसबाट खानले मेयरको टिकट प्राप्त गरेका छन् ।
टिप्पणीहरू