गभर्नरको मुद्दा आज पनि हेर्दाहेर्दैमा

गभर्नरको मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेपाल राष्ट्र बैंकका गभर्नरले सरकारको निर्णयविरुद्ध हालेको मुद्दा आजको सुनुवाईपछि पनि हेर्दाहेर्दैमा परेको छ । यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट भएको अन्तरकालीन अन्तरिम आदेशपछि वैशाख पहिलो सातादेखि कार्यालयको नियमित काममा फर्केका अधिकारीको मुद्दाको किनारा लगाउन सर्वाेच्चमा आज फेरि बहस भएको हो ।

गभर्नर अधिकारीले दायर गरेको रिटउपर अस्ति न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भएको थियो । अस्ति मुद्दाको सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएकाले आज पुनः इजलासमा चढेको हो । आजको सुनुवाई पछि पनि हेर्दाहेर्दैमा परेको छ ।

सरकारले चैत्र २५ गते गभर्नरलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

गभर्नर अधिकारीको पक्षमा अस्ति र आज आधा दर्जनबढी अधिवक्ताले बहस गरेका छन् । बहसमा नरेन्द्रप्रसाद गौतम, सुरेन्द्र थापा, सुशील पन्त, राधेश्याम अधिकारीदेखि शम्भु थापालगायतले बहस गरेका हुन् ।

विपक्षी सरकारको तर्फबाट महान्यायाधीवक्ता खम्बबहादुर खातीलगायतका सरकारी वकिलहरुले बहस गरेका छन् ।

टिप्पणीहरू