चुनावको निम्ति अधिकांश सरकारी र सामुदायिक विद्यालयमा ६ दिन छुट्टी

चुनावको निम्ति अधिकांश सरकारी र सामुदायिक विद्यालयमा ६ दिन छुट्टी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका देशभरका सबै विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज मुख्य सचिवमार्फत वैशाख २८ गतेदेखि वैशाख ३० गतेसम्म त्यस्ता विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिस पठाएको हो ।

मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापनलगायतका कार्यको निम्ति तीन दिन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए ।

निर्वाचनका लागि मतदानस्थल तथा केन्द्र तोकिएका विद्यालयका साथै वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवनहरु तीन दिन उपलब्ध गराउनसमेत संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय आयोगले गरेको छ ।

त्यसैगरी मतदानको निम्ति वैशाख ३० गते शुक्रबारका दिन देशभर सार्वजनिक बिदा दिन पनि आयोगले सरकारलाई भनेको छ । आयोगको सिफारिसबारे क्याबिनेटबाट निर्णय हुनेछ । आयोगले मागेअनुसार नै सरकारले बिदा दिने निर्णय गरे वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म लगातार ६ दिन बिदा हुनेछ । वैशाख २८, २९ र ३० गते चुनावका लागि अनि ३१ गते शनिबार र जेठ १ गते आइतबार हप्ता बिदा हुनेछ । २ गते बुद्ध जयन्ती परेकाले देशभर सार्वजनिक बिदा छ ।

त्यस्तै, आयोगले चैत ३० गतेदेखि औपचारिक भाइवर ग्रुप सुरुआत गरेको जानकारी दिँदै यहाँबाटै नागरिक र सरोकारवालाहरुलाई समयसापेक्ष अद्यावधिक र सही सूचना उपलब्ध गराउने जनाएको छ । यहाँबाट मतदाता शिक्षा र अन्य जानकारी लिन सकिने आयोगको भनाइ छ ।

आयोगले आजसम्म ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकेको पनि जानकारी गराएको छ ।

त्यस्तै, आज दिउँसो साढे ३ बजेसम्मको तथ्यांकअनुसार एक लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले बताएको छ । जसअनुसार प्रमुखमा ३ हजार ५१०, अध्यक्ष ३ हजार ३८७, उपप्रमुख २ हजार १६८ र उपाध्यक्ष २ हजार ४०१ छन् । त्यस्तै, वडाध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्य ५५ हजार ७२० छन् ।

टिप्पणीहरू