काठमाडौंकी उपमेयर उम्मेदवार सुनिता महानगरकै ‘वैतनिक विज्ञ’

काठमाडौंकी उपमेयर उम्मेदवार सुनिता महानगरकै ‘वैतनिक विज्ञ’

काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरमा उठेकी पूर्व मीस नेवाः सुनिता डंगोल महानगरकै पूर्व कर्मचारी रहेको पुष्टि भएको छ । मै हुँ भन्ने कमरेडहरुलाई पाखा लगाएर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपमेयरमा उठाउनुको कारण खोतल्दै सामाजिक सञ्जालमा धेरैले विभिन्न कुरा लेखेका छन् । धेरैजसोले यसअघि महानगरबाट मासिक तलब बुझ्ने विज्ञ रहेको कारण सुनिताको सट्टा अरुलाई टिकट नदिइएको विवरण पनि लेखेका छन् ।

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यी सुनिता डंगोल काठमाडौं महानगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने विज्ञ सल्लाहकार रहिछन् । विगत पाँच वर्षदेखि महिनाको ८० हजार तलब बुझ्दि रहिछन् महानगरपालिकाबाट । विगत पाँच वर्षमा विद्या सुन्दरले समृद्ध काठमाडौंको निर्माण गरेको पनि यिनकै सल्लाहले रहेछ । त्यही भएर एमालेले अहिले उपमेयरको टिकट दिएको रहेछ ।’

विज्ञलाई ७० हजार र सहायक विज्ञलाई ४० हजारको हाराहारीमा तलब दिने व्यवस्था रहेकाले उनले पनि त्यही रकम बुझेकी हुन् ।

यसबारे महानगरपालिकाको उच्च स्रोतले उक्त लेखाइमा आंशिक सत्यता रहेको बतायो । स्रोत भन्छ, ‘सुनिता कर्मचारी होइनन् । सहायक विज्ञ थिइन् । अहिलेका मेयर शाक्यले उनलाई प्रारम्भदेखि नै सहायक विज्ञमा नियुक्त गरेका हुन् ।’

तर उनको नियुक्ति महानगरअन्तर्गतको शहरी योजना आयोगमा भएको हो । थापाथलीस्थित उक्त कार्यालयमा विज्ञ र सहायक विज्ञ गरी १० जनाको टिम राख्ने व्यवस्था छ । उक्त टिमले मेयर कार्यकालमा रहुञ्जेल काम गर्ने अधिकार पाउँछ ।

सहायक विज्ञ सुनिताले अढाई वर्ष मात्र काम गरेको स्रोतले पुष्टि गरेको छ । विज्ञलाई ७० हजार र सहायक विज्ञलाई ४० हजारको हाराहारीमा तलब दिने व्यवस्था रहेकाले उनले पनि त्यही रकम बुझेकी हुन् । उनलाई जनसम्पर्क तथा भाषा विज्ञको रुपमा नियुक्त गरिएको पनि स्रोतले पुष्टि गरेको छ ।

डंगोल नेपाली,नेपाल भाषा र अंग्रेजीमा पोख्त रहेको बताइएको छ । महानगरमा पत्राचारको क्रममा आवश्यक पर्ने भाषाको निम्ति उनलाई छनौट गरिएको एक जना अधिकृतले बताए ।

टिप्पणीहरू