काँग्रेसका बागीलाई उम्मेद्वारी झिक्न सातघण्टे अल्टिमेटम
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध हालिएका बागी आज साँझसम्ममा फिर्ता नलिए कारबाहीको चेतावनी दिएको छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध परेका बागी उम्मेदवारी आज १० बजेदेखि ५ बजेभित्र फिर्ता लिन आग्रह गरेका छन् । तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासनमा पर्ने उनको चेतावनी छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।’
लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको स्पष्ट पार्दै हिजै पार्टी सभापति शेरबहादुर देउवाले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिनुभएको थियो । तर बागी उम्मेदवारले निर्देशन टेरेका छैनन् ।
यदी उनीहरुले उम्मेदवारी फिर्ता लिन चाहेमा आज बेलुकासम्मको समय अवधि निर्वाचन आयोगले तोकेको छ ।
टिप्पणीहरू