अनि त्यहाँ टिकट काटकुटको रमिता शुरु भयो

अनि त्यहाँ टिकट काटकुटको रमिता शुरु भयो

निर्वाचन आयोगले उम्मेदवार मनोनयनको मिति तोकेको पहिलो दिन (वैशाख ११) गते ४ बज्दै थियो । इलाम नगरपालिका प्रमुखको आकांक्षीमध्येका धीरेन चेम्जोङ र एमाले नगरका कार्यकर्ता भोलिपल्ट मनोनयन गर्ने चाँजोपाँजो मिलाइरहेका थिए । नगर तथा जिल्ला कमिटीले तेस्रो नम्बरमा सिफारिस गरेका नरेन्द्रनाथ भट्टराईको नाममा फ्याट्ट टिकट आयो । त्यसपछि रमिता शुरु भयो ।

नगर कमिटीले तत्काल सामुहिक राजीनामा दियो । सदरमुकामस्थित कार्यालयमा ताला लाग्यो । तालाले मात्र भएन, गेटमा पर्खाल नै लगाइयो । भट्टराईलाई लिएर चुनाव जित्न नसकिने भन्दै नगरकमिटी, भ्रातृ संगठन र वडा कमिटीहरूले समेत धमाधम राजीनामा दिन थाले । यति मात्र होइन, भट्टराईसँगै उपप्रमुखको टिकट पाएकी चित्रमाया गुरुङले समेत यसरी निर्वाचनमा जान नसक्ने भन्दै विज्ञप्ति जारी गरिन् ।

निर्वाचनमा लाग्नुपर्ने कार्यकर्ता एकाएक आन्दोलनमा होमिए । तिनले पार्टी कार्यालय र नगरपालिकाअगाडि नाराबाजी गरे । युवा कार्यकर्ताले ‘म धीरेन चेम्जोङको पक्षमा’ भन्दै प्लेकार्ड देखाए । यसले नेतृत्वमा दबाब सिर्जना भयो । मनोनयनको अन्तिम दिन १० बजे पुनः निर्णय सच्याउँदै एमाले प्रदेश कमिटीले प्रमुखमा चेम्जोङ र उपप्रमुखमा सीता रिजाल भनेर टिकट पठायो ।

भएको के थियो ?

इलाम नगरपालिकाका वर्तमान प्रमुख महेश बस्नेतले दोहोरिने आकांक्षा नदेखाएपछि आकांक्षी चार जना भए । धीरेन चेम्जोङ, कृष्ण श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्यामकृष्ण घिमिरे । नगरबाट चारै जनाको सिफारिस भयो । जिल्लाबाट पनि यही लिष्ट सदर भयो ।

जिल्लाले धिरेन चेम्जोङलाई प्राथमिकताको एक नम्बरमा राखेर आधारसमेत व्याख्या गरेर सिफारिस गरेको थियो । भट्टराईको नाम तेस्रो नम्बरमा मात्र थियो । दोस्रोमा कृष्ण श्रेष्ठ परे । जिल्ला अध्यक्ष महेश बस्नेत र केन्द्रीय सदस्य तथा इञ्चार्ज राम रानाको पनि चेम्जोङतिर स्नेह भएकाले उनलाई नै टिकट दिनुपर्ने मत थियो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङबाट पनि चेम्जोङले आश्वासन पाइसकेका थिए ।

यसैले जिल्ला नेतृत्वसमेत चेम्जोङ नै इलाम नगर प्रमुखको उम्मेदवार हुनेमा ढुक्क थियो । प्रदेश कमिटीले पनि चेम्जोङलाई नै निर्णय गरेको हो । तर, प्रदेश नं. १ का इञ्चार्ज देवराज घिमिरेसँग भट्टराईको निकटताले गर्दा केन्द्रीय अध्यक्षको मन समेत उतै सोहोरियो ।

त्यसपछि जिल्ला अध्यक्ष बस्नेत तथा केन्द्रीय सदस्य राम रानालगायतले अध्यक्ष केपी ओली, उपाध्यक्ष नेम्बाङलगायतलाई लगातार फोन सम्पर्क गरे । ग्राउण्डको डिमाण्ड नै नबुझी भट्टराईलाई फिर्ता गरेमा इञ्चार्ज घिमिरेले समेत राजीनामा दिने अड्डी कसेका कारण निर्णय परिवर्तन हुन ढिलाइ भएको बताइन्छ ।

मनोनयनको अन्तिम दिन अध्यक्ष ओलीले नै भट्टराईलाई फोन गरी कुनै न कुनै ठाउँमा व्यवस्थापन गर्ने आश्वासन दिँदै टिकट फिर्ता गरेर चेम्जोङलाई दिइयो । यति भएपछि चेम्जोङको टीम मनोनयन दर्ता गर्न जाँदा भट्टराई पनि अग्रपंक्तिमा देखिएका थिए ।

प्रदेश इञ्चार्ज र जिल्ला अध्यक्ष बस्नेतबीच पुरानो खटपट रहेकाले घिमिरेले इलाम नगरपालिकामा पार्टी समाप्त गर्ने गरी टिकट दिने प्रयास गरेको एमाले कार्यकर्ताको आरोप छ । इलाम नगरपालिकामा पार्टी नेतृत्वले उम्मेदवारको सिफारिस सच्याए पनि अन्य दुई पालिकामा भने समस्या उस्तै छ ।

सन्दकपुर गाउँपालिकामा जिल्ला सचिव उमेश गुरुङ आफैं बागी उम्मेदवार बनेका छन् । पालिका अध्यक्षको आकांक्षी रहेका उनले सोमबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएपछि एमालेमा खैलाबैला मच्चिएको छ । निवर्तमान अध्यक्ष उदय राईले आधिकारिक उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन् ।

यसरी नै माई नगरपालिकाका निवर्तमान प्रमुख दीपक थेबे राजीनामा दिएर मनोनयनका लागि तयारी भई बसिरहेको बेला पार्टीले टिकट भने खम्बसिंह लिम्बूलाई दियो । त्यहाँ पनि पार्टी कार्यालयमा ताला लगाइएको छ । कार्यकर्ताबीच असन्तुष्टि र विभाजन देखिएको छ ।

गठबन्धनमा पनि छैन सहज

इलाममा गठबन्धन गर्दा दुई नगरपालिकासहित सात वटा पालिका नेपाली कांग्रेसले लिएको छ । एक नगरपालिकासहित दुई पालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेकपा माओवादी केन्द्रलाई भने एक नगरपालिका दिइएको छ ।

कांग्रेसले इलाम नगरपालिकाको प्रमुख, उपप्रमुख, देउमाई नगरपालिकाको प्रमुख, रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, फाकफोकथुममा अध्यक्ष, चुलाचुली गाउँपालिकामा अध्यक्ष, माङसेबुङ गाउँपालिकामा अध्यक्ष, सन्दकपुर गाउँपालिकामा अध्यक्ष पाएको छ । रोङ गाउँपालिकामा वर्तमान उपाध्यक्षले उम्मेदवारी दिन नमानेपछि कांग्रेसले मनोनयनको अन्तिम समयमा कल्पना भण्डारीलाई उठाएको छ ।

नेकपा एसको भागमा परेको माइजोगमाई गाउँपालिकामा पनि नेपाली कांग्रेसका कार्यकताहरू बीच ठूलो असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका केही कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्् । माई नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीको उम्मेदवार धनबहादुर लिम्बू विरुद्ध भक्तबहादुर लुङ्गेलीले पनि उम्मेदवारी दिएका छन्् ।

टिप्पणीहरू