भारतीय गाडीमा काँग्रेसको झण्डा फरर..
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली काँग्रेसका उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् ।
तराई र मधेशका जिल्लामा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिए पनि पहाडी भेगका जिल्लामा समेत त्यस्ता गाडी कुदाएको देखिएको हो ।
काँग्रेसका तर्फबाट धादिङ नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङले आचारसंहिताविपरित भारतीय गाडी हुँईंकाएकी हुन् । यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेकी छन् ।
निर्वाचन आयोगले उम्मेदवारको तहअनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि काँग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा काँग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटोसहितको प्रचार ब्यानर टाँगेकी छन् ।
निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु मात्र प्रयोग गर्न पाइने व्यवस्था छ । त्यसमा पनि निर्वाचन प्रयोजनको लागि एक जना प्रत्यक्षतर्फका उम्मेदवारले अधिकतम दुई वटा हलुका सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत गराएर मात्र सञ्चालन गर्न पाउने प्रावधान छ ।
कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए ।
टिप्पणीहरू