बाढीले ८ वर्षीया बालिकालाई बगायो
अर्घाखाँचीको भूमिकास्थानमा परेको मुसलधारे वर्षासँगै आएको बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–१, ढाकाबाङको बेसारेखोलामा आएको बाढीले बगाउँदा आठ वर्षीया शिवानी घर्तीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठानको मल्लरानी गाउँपालिका–२, स्थायी घर भएकी शिवानीलाई दिदीको घर ढाकाबाङ आउने क्रममा हिजो साँझ बाढीले बगाएको थियो । दिदी दुर्गा घर्तीसँगै आएकी बहिनीलार्ई बाढीले बगाएपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् ।
गएराति अबेरसम्म शिवानीको अवस्थाबारे प्रहरीले पत्ता लगाउन नसकेपछि आज बिहान पुनः स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्दा हिलोमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।
शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । बालिकाको घर प्यूठान भएकाले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठान नै पठाइएको निरीक्षक पौडेलले बताए ।
टिप्पणीहरू