श्रम दिवसमा मात्र उठाइने श्रमिकका हक : अक्षरमा राम्रो, कार्यान्वयन शुन्य

श्रम दिवसमा मात्र उठाइने श्रमिकका हक : अक्षरमा राम्रो, कार्यान्वयन शुन्य

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

एक सय ३६ वर्ष अघिदेखि मनाउन थालिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । आजको दिनले संसारका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउने गरेको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले आजका दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले आज बिहान श्रमिक अधिकारको माग गर्दै राजधानीमा पदयात्राको आयोजना गरेको छ । यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्यान्ह भृकुटीमण्डमा श्रमिकसभाको आयोजना गर्दैछ । मुलुकभर क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले पनि अपरान्ह बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

वि.सं.२००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । २००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रप्राप्तीको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ ।

मुलुकको संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता पनि गरिएको छ ।

युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता छ । बालश्रम, बाधा श्रम निषेध गरिएको छ । विभिन्न भेदभावको अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमासमेत गरिएको छ ।

श्रमिक अधिकारका विषय संविधान, ऐन र विभिन्न दस्तावेजमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर देखिन्छ । नेपाली श्रमिक वर्गले उठाउँदै आएको नीति निर्माणलगायत राज्यको सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको श्रम आयोग गठन, श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको व्यवस्था, श्रम निरीक्षण प्रणाली र श्रम कार्यालय विस्तारलगायत विषय अहिलेसम्म कुरैमा सीमित बनेको छ ।

आज मुलुकभर सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच श्रम दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुभकामना सन्देश दिनुभएको छ ।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेताले पनि आज श्रमिकको पक्षमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू