विप्लवहरुले पुतलीमा भोट हाल्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्ने भएको छ । आज पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले अपिल जारी गर्दै आफ्ना स्वतन्त्र उम्मेदवारलाई निर्वाचनमा मत दिन आग्रह गर्नुभएको हो ।
उहाँले स्थानीय चुनावमा जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्दै देशभक्त र जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको छ ।
अपिलमा नेकपाले स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधीलाई पन्छाउँदै देशभक्त र जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने एवम् सहयोग गर्ने नीति र निर्णय पारित गरेको उल्लेख छ । सोबमोजिम चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार भएका र अन्य धेरै ठाउँमा लठ्ठी, हाँस,धरहरा चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको बताइएको छ ।
नेकपाले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताको विरुद्ध हुने खालका कुनै पनि कार्य गरेमा समर्थन फिर्ता लिने चेतावनी पनि विप्लवको अपिलमा उल्लेख छ ।
‘हामीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा,श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफ्नो समर्थन फिर्ता लिने छ,’ विप्लवद्वारा जारी अपिलमा भनिएको छ ।

टिप्पणीहरू