काँग्रेस र माओवादीको अहंकारका कारण गठबन्धनबाट बाहिरियौं : जसपा

काँग्रेस र माओवादीको अहंकारका कारण गठबन्धनबाट बाहिरियौं : जसपा

जनता समाजवादी पार्टी नेपालले सत्ताधारी पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर १, समन्वय समितिले नेपाली काँग्रेस र माओवादीको अहंकारका कारण गठबन्धनबाट बाहिरिनुपरेको जनाएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र देशव्यापी चुनावी तालमेल गरेर प्रतिगमनलाई परास्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने भनिए पनि ललितपुर जिल्लामा त्यस्तो नदेखिएको समितिले ठहर गरेको छ । समितिका अध्यक्ष जीवन लामाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका घटकहरुमध्ये नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनका अन्य घटकहरुसँग कहिँ कतै कुनै किसिमको तालमेलको पहल नगरी अहंकार र अलोकतान्त्रिक तरिकाले एक्लौटी निर्णय गरेको र केन्द्रीय गठबन्धनको समेत मर्म, भावनाविपरित गएको देखिएकाले गठबन्धनमा बसिरहनुको औचित्य समाप्त भएको छ ।’

जसपाले ललितपुरको गोदावरी नगरपालिका, बागमती, महाँकाल, कोञ्ज्योसोम गाउँपालिकामा आसन्न निर्वाचनमा एकल, स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी हुने निर्णय समेत गरेको छ । उसले नेपाली काँग्रेस र माओवादीको उक्त रवैयाका कारण उत्पन्न हुने निर्वाचन परिणामको जवाफदेही पनि उनीहरु नै हुने बताएको छ ।

टिप्पणीहरू