मन्त्रिपरिषद्को बैठक दुई घण्टा ढिलो शुरु,धिरज नयाँ आइजिपी नियुक्त
आज बिहान ११ बजेलाई बोलाइएको क्याबिनेट बैठक दुई घण्टा ढिलो शुरु भएर नेपाल प्रहरीको आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्दै भर्खर सकिएको छ । यो निर्णयमा माओवादी अध्यक्ष प्रचण्डको समेत सहमति रहेको बताइन्छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकले आजदेखि रिक्त रहेकाे नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्र राय यादव र परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, शिक्षामन्त्री देवेन्द्र पौडेल, खानेपानीमन्त्री उमाकान्त चौधरी, वनमन्त्री रामसहायप्रसाद यादव र मुख्यसचिव शंकरदास बैरागी उपस्थित हुनुभयो ।
यसअघि बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झण्डै आधा घण्टा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच पनि प्रहरी र सशस्त्रमा रिक्त महानिरीक्षक पदमा नियुक्तिको विषयमा छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू