नेपालले दियो जिम्बाबे ‘ए’ लाई विशाल लक्ष्य
जिम्बाबे ‘ए’ विरुद्धको ट्वान्टी २० श्रृंखलाअन्तर्गतको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८१ रन जोडेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा नेपालले पाँच विकेटको क्षतिमा उक्त योगफल तयार पारेको हो ।
नेपालका लागि आदिल आलमले अविजित ४७ रन जोडेका छन् । त्यस्तै, कुशल भुर्तेलले ४६, रोहितकुमार पौडेलले ३६, दिपेन्द्रसिंह ऐरी २८, आशिफ शेखले नौ, आरिफ शेखले दुई तथा करन केसीले अविजित चार रन रन जोडेका हुन् ।
अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाबे ’ए’ सँग तीन ट्वान्टी २० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।
नेपालले शनिबार जिम्बाबे ‘ए’ विरुद्धको तीन एकदिवसीय श्रृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।
टिप्पणीहरू