सूर्य चिन्ह रोज्दा पनि राप्रपा नेपाल र कमल थापाको यो हालत

सूर्य चिन्ह रोज्दा पनि राप्रपा नेपाल र कमल थापाको यो हालत

गत हिउँदमा सम्पन्न राप्रपाको महाधिवेशनबाट पार्टी अध्यक्षमा अर्को कार्यकाल दोहोर्याउन खोजेका कमल थापा एकाएक पराजित भएपश्चात पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेका कारण राजेन्द्र लिङ्देन विजयी भएको आरोप लगाइरहे । त्यसपछि गृहनगर हेटौंडा पुगेर राप्रपा नेपाल ब्युँताएको घोषणा गरे ।

विगतमा गाई चिन्ह पाएका थापाले तत्कालीन राप्रपासँग पार्टी विलय गराउँदा चुनाव चिन्ह पनि गाई छाडेर हलो रोजेका थिए । गाई चिन्हको सट्टा अहिले उनको पार्टीले तीर लिएको छ । राप्रपाको संगठनबाट ठूलै हिस्सा बोकेर नयाँ दल बनाउने उनको चाहनामा त्यतिबेला तुषारापात लागेको छ,जहाँबाट आफ्ना भाइ,भतिज र छोरीले मात्र उनलाई रोजेका छन् ।

हिजो उनका हस्ती भनेर चिनिएका कोषाध्यक्ष उध्दव पौडेलले समेत हालै राप्रपा नेपाल परित्याग गरेका छन् । अर्का नेता चन्द्रबहादुर गुरुङले पनि गोडा उचालेको बताइन्छ । गुरुङका भाइ स्वयम् राप्रपाका जिल्ला अध्यक्ष छन् । त्यो हिसाबले पनि चन्द्रबहादुरले कमल थापाको साथ छाड्न लागेको बताउन थालिएको छ ।

“तालमेल भन्नेबित्तिक्कै दुवै दलबीच गिभ एण्ड टेक हुनुपर्नेमा कमल थापा र एमालेबीच भएको भनिएको तालमेलमा त्यस्तो नदेखिएको हो । एकाध ठाउँमा थापाका उम्मेदवार उठे पनि एमालेसँग तालमेल नै भएको कहिँ देखिएको छैन ।”

पार्टीभित्र पनि जनाधार भएका नेताहरु नभएपछि राप्रपाका नेताहरु ढिलो चाँडो कमल थापा राप्रपा नेपालभित्र एक्लो हुने विश्वासमा देखिन्छन् । स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने भनेर ठूलै हल्ला गरे पनि तालमेलको कुनै ताल नदेखिएको उनकै नेताहरुले बताएका छन् ।

तालमेल भन्नेबित्तिक्कै दुवै दलबीच गिभ एण्ड टेक हुनुपर्नेमा कमल थापा र एमालेबीच भएको भनिएको ताल र मेलमा त्यस्तो केही पनि पाइन्न । एकाध ठाउँमा थापाका उम्मेदवार उठे पनि एमालेसँग तालमेल नै भएको कहिँ देखिएको छैन । बरु उल्टै आज दिउँसो जारी विज्ञप्तिमा राप्रपा नेपालले सूर्य चिन्ह लिएर उठेका एमाले उम्मेदवारलाई भोट हाल्न देशभरका आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

एउटा वडामा पनि एमालेसँग तालमेलको गन्ध सुँघ्न नपाएको उनको पार्टीले किन त्यस्तो अवस्था भोग्नुपर्यो भन्ने जनआस्थाको जिज्ञासामा विगतमा उनीसँग निकट रहेर काम गरेका राप्रपाका एक जना नेताले भने, ‘पार्टीको संगठन र जनाधार नभएकाले एमालेले मतलब गर्ने कुरै भएन ! संगठन भएकाजति सबै राप्रपामा छन् । उनीसँग एकाध अवसरवादी मात्र छन् ।’

थापाको साथमा रहेका भनिएकामध्ये अहिले ललितपुरका भाष्कर भद्रा र महोत्तरीका सुशील श्रेष्ठ मुख्य हुन् । वीरगञ्जका राजीव पराजुली पनि उतै छन् । तर ती सबै जनआधार नभएका नेताहरु भएकाले कमल थापाको हालत खराब भएको राप्रपाको बुझाइ हो ।

अघिल्लो महिना तामझाम गरेर थापाले एमाले पार्टी कार्यालयमा गई तालमेलमा हस्ताक्षर गरेका थिए । उनले सूर्य चिन्ह लिएर उठ्नेसमेत भनेका थिए । तर अहिले आफ्नै तर्फबाट उम्मेदवार हुने मान्छे नपाएपछि एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णयमा पुगेको राप्रपा नेता मोहन श्रेष्ठको दावी छ ।

सबै राप्रपातिर बसेकाले उनी अप्ठेरोमा परेका हुन् । उनले केन्द्रीय सदस्य रहेकी आफ्नी छोरीलाई भने राप्रपा नेपालमा लगेका छन् । उनी ह्याम्स अस्पतालमा डाइरेक्टरको जिम्मेवारीमा रहेको बताइन्छ । भतिज अभिषेकले पनि राप्रपा छाडेका हुन् । तर अरु कसैले पनि उनको साथ दिने सम्भावना देखिएको छैन ।

उनले एमालेसँग गरेको हालैको अचम्मको तालमेल आगामी संसदीय निर्वाचन लक्षित रहेको भन्नेहरु पनि छन् । कम्तिमा मकवानपुरबाट आफूलाई केपीले जिताइदिने आशा र विश्वासमा अहिले तालमेलको कागजमा ल्याप्चे ठोकेको राप्रपाका विश्लेषकहरु बताउँछन् ।

टिप्पणीहरू