संकटकालमा देउवाकै सरकार हुँदाको माओवादी सर्कुलर
प्रिय क. क्रान्ति/अजितसिंह, हार्दिक अभिवादन
हामी हिजो जिल्ला हेडक्वार्टरको पोष्टमा बसेर आज बिहानै मिलनको सम्पर्कमा आयौं तर जिल्ला कमिटीको बैठक फाटिसकेको रहेछ । लाष्टतिर भेटिन्छ कि भन्ने आशाले हिँडिएको थियो । तपाईंहरू सुरक्षित बाटो र हामी मेन बाटो हिँडेकाले फेरो प¥यो जस्तो लाग्यो । भेट हुन पाइएन । बैठकका निर्णयहरू के–के भयो ? पत्रमा लेख्नुहोला । हामी आज ९ दिन भयो, हिँडेको हिँड्यै छौं । अझै बाटामा छौं । ६ नम्बर जिल्ला कमिटीको बैठक तीन दिनसम्म बसियो ।
अहिले सूचना सञ्चार जोडिएको छ । तीन जना सञ्चारका कमरेडहरू (दुई जना ५६ नं. पोष्ट र एक जना डिसिएम १०० नं. पोष्टमा बस्ने) लाई लिएर आएको छु । आज पनि मिलनजीलाई बोलाएर यतै बसिँदैछ । भोलि हिँड्छौं होला तलैतिर । माथि जिल्ला कमिटीमा पनि ठीकै देखियो । सीमित क्याडरहरू, मसाल प्रभावित र नयाँ भएकाले आतंकित हुनु स्वाभाविक हो । हाम्रो जिल्ला कमिटीको शुरुशुरुको अवस्था जस्तै रहेछ तर पछि विस्तारै कार्यकर्ता र आम जनपंक्तिमा पनि संकटकाल स्वाभाविकतामा फेरिँदै गयो ।
शुरुमा शाही सेना अत्यन्त आक्रामक जस्तो भएर आएछ । हाम्रै पंक्तिका केही व्यक्तिले पोल खोल्दा प्राविधिक कार्यशाला, ड्रेन ड्रमहरू सबै सिकाएछ र करिब ७÷८ लाख जतिको प्राविधिक सामग्री क्षति भएछ । पहिले विद्रोह गरेका पिएलको स्क्वायडहरूका हातमा हतियार लुकाएको पनि फेला पारेछन् । एउटा रिभोल्भर, थ्रिनटथ्री, बाह्र बोर १८/१९ थान जति र केही गन फेला पारेछन् । अहिले फेरि हतियार कब्जा अभियान चलाइएको छ । स्क्वायड र पिएलहरूसमेत बिनाहतियार छन् ।
गन (भरुवाहरू) अझै गाउँमा थुप्रै भएको पाइयो । मारिएकामा म्याग्दीका १५ जनामध्ये तीन जना हाम्रा (एक जना पिएल, एक जना मिलिसिया र एकजना शहरी गुरिल्ला सदस्य), बाँकी सबै सर्वसाधारण र समर्थक परेका छन् । तीन जना तातोपानी डुब्न गएका र दुई जना सिलाजित खरिद्न गएका व्यापारी परेछन् ।
अन्य केही समर्थक र केही सामान्य मान्छे छन् । बाग्लुङमा चार जनाको हत्या भएकोमा एक जना ९ कक्षामा पढ्ने सामान्य समर्थक विद्यार्थी, दुई जना वार्ड जनसरकार सदस्य तर आत्मसमर्पण गरी घर बसिरहेका र ८ जना मसालको राजमो प्रवेश गरेकालाई हत्या ग¥यो । एक जना पूर्वबाट काम गर्न आएका सामान्य मान्छे परे ।
पछिल्लो खबरअनुसार एक जना एरेस्टेड एसिएसलाई पक्राउपछि हत्या गरेको भन्ने छ र एक जना अर्को एसिएस र एक एसिएम काली नदीमा हाम फालेर बेपत्ता भएको, एसिएस उत्रेर पल्लोपट्टि पर्वतको सम्पर्कमा पुगेको भन्ने छ । अर्को एक जना आत्मसमर्पण गरी सिकाउँदै हिँड्ने केटालाई पनि पछि मा¥यो भन्ने छ । केही भागदौड भएको छ । फेरि पनि टोटलमा स्थिति ठीकै छ । सबै गठन पुनर्गठन भएको छ । जनवर्गीय संगठनहरू बढी अस्तव्यस्त छन् । सूचना सञ्चारबाट टाढा भएकाले छुट्ने काम भइरहेको छ । डि फाइभले सूचना सञ्चारमा राम्रो सहयोग गर्नुपर्ने हुन्छ होला ।
यता क. प्रदीपको शहादत भएछ । क. निमप्रसाद पनि मारिनुभएछ । सतर्कतामा अलि बढी ध्यान दिनुपर्छ होला । डिएसको हेर्दा पनि अधिकांश घर जाँदा एरेस्ट भएको देखियो । बढी सिआइडी र सुराकीहरू परिचालित भइरहेका छन् । पार्टीको ‘दुश्मनको जरा काट्ने र हाँगा भाँच्ने’ नीतिलाई दरिलोसँग आत्मसात गराउनु जरुरी छ । सदरमुकाम र दुश्मनको क्याम्पनजिक ‘पानी संग्ल्याएर माछा मार्ने’ तरिकाबाट सावधान बन्ने–बनाउनेमा ध्यान दिनुपर्ला ।
स्थिति हाम्रो पहलमा आउँदैछ भन्ने क.हरूको पत्रद्वारा अवगत भएको छ । अन्तर्राष्ट्रिय परिस्थिति पनि हाम्रो प्रतिकूल देखिँदैन । संकटकाल नलम्बिने सम्भावना छ । देउवामाथि तीव्र दबाब बढ्दैछ । युरोपियन संघले पनि हाम्रो पार्टीलाई अलकाइदा भन्दा भिन्दै र राजनीतिक शक्ति भएको प्रतिक्रिया जनाएको छ भन्ने छ । सकेसम्म उनीहरूले भेट भएर कुराकानी गर्ने इच्छा गरिरहेका छन् ।
अमेरिका, भारतले पनि यहाँका शासक वर्गले आशा गरेजस्तै सहयोग गर्नसक्ने स्थिति र अवस्था छैन । बुद्धिजीवीहरूको दबाब सरकारमाथि बढ्दो छ । लाग्छ, संकटकाल ६ महिनासम्म लम्बियो भने अझ नेकांका स्थानीय मुख्य मान्छेहरू सकिनेछन् । गाउँबाट एक प्रकारको सफाया अभियान चल्नेछ । अन्य केन्द्रिकृत फौजी कारवाहीहरूबारे इञ्चार्जसँग तपाईंहरूको भेटघाट, अन्तक्र्रिया भएकोले सबै ज्ञात भएकै होला ।
फौजी, गैरफौजी कामकारवाहीलाई आगामी कार्यक्रमसँग जोडी घनिभूत रुपमा लैजान निरन्तर नेतृत्व र निर्देशन गरिराख्नुहुनेछ । अस्तिको फोटोकपी गरी लगेको (मैले पैसा पाउनुहुन्छ भनेथें) डिसीबाट मागेर ११५५ रुपैयाँ पठाइदिएको छु । यता मगराँतको कति कपी फोटोकपी भयो र कति खर्च लाग्यो, सोको एकमुष्ट हिसाब पठाउनुहोला । भेट भएको भए यहीं नै फस्र्योट गरी छाड्ने थिएँ । पछि पठाइने छ ।
अन्य सबै कमरेडहरूलाई बेलाबेलामा, कहाँ कहाँ सहयोग र निर्देशन गर्नुपर्छ, गरिरहने कुरामा पर्याप्त ध्यान दिनुहुनेछ । म उपक्षेत्रको सम्पर्कतिर झर्दैछु । कता हो, त्यो पनि थाहा छैन । ५६ को पोष्ट भएर सम्पर्क गर्दै जानेछु । शेष कुराहरू ठीकै छ । ६ नं. पनि विस्तारै भेटमा आउँदैछ । उता अर्खा रजबारातिर अलि बढी जोड गर्नुपर्छ होला । समस्या देखियो । कार्यकर्ताहरूको जिम्मेवारी हेरफेर हुँदा पुराना संगठनहरू पनि बिलाउँदा रहेछन् । पुरानाले नयाँलाई चिनाउने, परिचित गराउने काम गर्नुपर्ला । बाँकी कुराहरू भेटमा वा अर्को पत्रद्वारा गरौंला । अन्तमा कमरेडहरूको सुस्वास्थ्य एवं प्रगतिको कामनासहित बिदा ।
– विषम, ४ नं. पोष्टबाट (०५८/११/२५)
टिप्पणीहरू