निर्वाचनमा कसैलाई गाडी, कसैलाई घोडा
निर्वाचन आयोगले उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्ने सवारी साधनको प्रकार तोकिदिएको छ । स्थानीय तहको चुनावमा उम्मेदवारहरुले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएर मात्र त्यस्ता सवारी साधन प्रयोग गर्न पाउने गरि गाडीको वर्गीकरण गरिदिएको हो ।
जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले दुई वटा दुईपाङग्रे, तीनपाङग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधनको उपयोग गर्न पाउने छन् ।
त्यसैगरी, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षका लागि एउटा दुईपाङग्रे, तीनपाङग्रे वा चारपाङग्रे हलुका सवारी साधन छुट्याइएको छ । महानगर तथा उपमहानगरका वडाध्यक्ष तथा वडा सदस्य उम्मेदवारले वडाभित्र प्रयोग गर्न चारपाङग्रेसम्मको एउटा सवारी साधन प्रयोग गर्न पाउने छन् ।
नगर र गाउँपालिकाका वडाध्यक्ष र वडा सदस्य उम्मेदवारका लागि वडाभित्र प्रयोग गर्न एउटा दुईपाङग्रे सवारी साधन तोकिएको छ । विद्युतीय तथा यान्त्रिक शक्तिका सवारी साधन नचल्ने गाउँपालिका वा नगरका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले दुई वटा घोडा चढ्न पाउने छन् । वडाध्यक्ष र सदस्यले प्रचार प्रसारका लागि एउटा घोडा पाउने व्यवस्था गरिएको छ ।
टिप्पणीहरू