आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुने
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने भएको छ । आचारसंहिताको उल्लंघन गरेको कारण निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित सम्पन्न हुन नसक्ने लागेमा त्यस्तो उम्मेदवारको उम्मेदवारी नै रद्द गर्न सकिने चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।
साथै, आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा सार्वजनिक स्थानमा दलका झण्डा वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा नटाँस्न सूसुचित गराएको छ । ‘दल तथा उम्मेदवारहरुले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोष्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।
निर्देशनविपरीत गए राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने समेत विज्ञप्तिमा उल्लेख छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
टिप्पणीहरू