तानिएका तीन श्रीमानमाथि छानबिन तीव्र
मीटर ब्याज र दुर्घटनासम्बन्धी मुद्दामा ‘कैफियत’ देखिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारी र अम्बिकाप्रसाद निरौला चैत १४ यता सर्वोच्च अदालतमा हाजिर गर्दै फर्किँदै गरेका छन् । अधिकारीले बूढानीलकण्ठ सवारी दुर्घटनासम्बन्धी फैसला गर्दा बदमासी गरेको आरोप छ भने निरौलाविरुद्ध बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादीलाई सफाइ दिँदा र मीटरब्याजी गणेश उप्रेतीलाई सफाइ दिँदा फैसलामा गडबडी गरेको आरोप छ । प्रारम्भिक रूपमै निर्णयमा कैफियत देखिएपछि उनीहरू छानबिनको घेरामा तानिएका हुन् ।
यी दुई न्यायाधीशमाथि छानविनका लागि पीडित पक्षबाट उजुरी परेको थियो । अहिले उनीहरू काठमाडौं जिल्ला अदालतबाटै तलब खाने गरी सर्वोच्च अदालतको काजमा छन् । स्रोतका अनुसार छानबिनका लागि न्याय परिषद््ले उजुरीको फाइल खोलेको छ । ‘फाइल खोलिएको छ, अब छानविनलाई तीव्रता दिएर चाँडै प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाउँछौं,’ परिषद् स्रोतले भन्यो । यही मेसोमा गत साता अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी पनि तानिएका छन् । तीनैजना न्यायाधीशले फैसला गर्दा न्यायमा विचलन देखिएको प्रारम्भिक छानबिनका क्रममा भेटिएको छ ।
अछामका न्यायाधीश जोशीले बलात्कारको मुद्दामा पीडित भनिएकी महिलालाई उल्टै तीन वर्ष कैद हुने फैसला गरेपछि विवादमा परेका थिए । जोशीले निष्क्रिय रहेको मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा सजाय तोकेका हुन् । गत चैत १३ गते न्यायाधीश जोशीबाट भएको फैसलामा पीडितले आफ्नो प्रतिरक्षा गर्न नपाउँदै झुट्टा जाहेरी दिएको भन्ने आधारमा उल्टै सजाय तोकिएको भनी परिषद्मा उजुरी परेपछि उनी शंकाको घेरामा परेका थिए ।
यता, काठमाडौं जिल्ला अदालतका न्यायाधीश निरौलाले पछिल्लोपटक बाबुराजा रावल अपहरण काण्डका प्रतिवादी दुर्गाबहादुर बुढाथोकीलाई ‘अर्कै मान्छे’ भन्दै सफाइ दिए । अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी सोले अर्थात् कुमार बुढाथोकी भन्ने दुर्गाबहादुर बुढाथोकीको अभियोग दाबी नपुग्ने भन्दै गत असोज ५ गते न्यायाधीश निरौलाले सफाइ दिएका हुन् । एउटै व्यक्ति भएता पनि ‘नाम फरक परेको’ भनी बुढाथोकीलाई सफाइ दिएको निरौलामाथि आरोप छ ।
बालाजु औद्योगिक क्षेत्र हाताबाट ०६५ साल पुस १ गते साँझ अपहरणमा परेका बाबुराजा रावलका बुवा हरिकृष्णले दिएको जाहेरीका आधारमा उप्रेतीसहित अपहरणकारी समूहमाथि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा चलेको थियो । न्यायाधीश निरौलाले ठगी र आपराधिक लाभमा मुद्दा चलाइएका गणेश उप्रेतीसहितका प्रतिवादीविरुद्धको अभियोग दाबी खारेज गरेपछि थप विवादमा फसेका हुन् । यो मुद्दामा गत गत पुस १ गते अदालतले सफाइ दिइएको थियो ।
उप्रेतीलगायत प्रतिवादीविरुद्ध २२ करोड ५१ लाख २१ हजार ९९६ रूपैयाँ ठगी गरेको, मीटरब्याजमा पैसा लगाई व्यवसायीहरूलाई धम्काएको, व्यापारीको घर र कार्यालयमा तोडफोड गरेको अभियोग छ । व्यापारीहरूलाई मीटरब्याजमा रकम लगाएर चर्को रकम असुल गर्ने गरेको अभियोगसमेत छ । यस्तो संगिन आरोपसहित दायर भएको मुद्दामा अदालतले अभियोग दाबी नपुग्ने भन्दै उप्रेतीकै पक्षमा फैसला सुनाएपछि पीडित पक्ष उजुरी लिएर न्याय परिषद्मा पुगेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा कानुनको जबर्जस्ती व्याख्या गर्दै तथ्यलाई तोडमोड गरेको भेटिएको छ ।
काठमाडौंका अर्का न्यायाधीश अधिकारीले बुढानीलकण्ठस्थित सवारी ज्यान मुद्दाका अभियुक्त पृथ्वी मल्लमाथि गरेको फैसला सन्देहास्पद देखिएको छ । बिहान सडकपेटीमा हिँडिरहेकी मोडल लीला देवकोटालाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाएको र उनीसँग लाइसेन्स नभएको आरोपसहित मुद्दा चलाइएको थियो ।
तीन वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने उक्त मुद्दामा अभियुक्तलाई जम्मा ६ महिना मात्रै कैद गरेर जेलबाट फुर्सद दिइएको भन्ने आरोप पीडितको उजुरीमा छ । यो मुद्दामा पनि कानुनको संदिग्ध व्याख्या गरिएको देखिएको छ । यी तीनवटै मुद्दाको जिम्मा न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीलाई दिइएको स्रोतले जनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तीव्र रूपमा अनुसन्धान गरी चाँडो सिफारिससहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको जनाइएको छ ।
टिप्पणीहरू