बिहेमा आएका राहुल गान्धी मध्यरातसम्म नाइटक्लबमा
साथीको बिहेको निम्तो मान्न हिजो सुटुक्क काठमाडौं आएका भारतीय काँग्रेस आईका नेता राहुल गान्धी गए राति अबेरसम्म ठमेलको एउटा नाइटक्लबमा बिताएका छन् । झण्डै दुई दर्जनको टोलीसहित गान्धी पौने १२ बजे ठमेलको एलओडी क्लब पुगेका हुन् ।
झण्डै डेढ घण्टा क्लबमा बिताएर उनी बौद्धस्थित हायात होटलमा फर्केका हुन् । उनी त्यहि होटलमा बसेका छन् । उनले बिहीबार निम्तो मान्ने होटल पनि त्यहि हो ।
गान्धी म्यानमारको निम्ति नेपालका पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको बिहेमा सहभागी हुन काठमाडौं आएका हुन् । सुम्निामा नयाँ दिल्लीस्थित सीएनएनकी पूर्वसंवाददाता हुन् ।
पाँच दिनको लागि नेपाल आएका गान्धी शुक्रबार नयाँ दिल्ली फर्कने कार्यक्रम छ । उनी आज र भोलि काठमाडौं बाहिर जाने कार्यक्रम छ । उनी आज र भोलि मुक्तिनाथ र रारा घुम्न जाने कार्यक्रम तय भएको छ ।
बिहीबार साँझ ७ बजे होटल हायातमा सुम्निमाको बिहे हुँदैछ । सुम्निमा नयाँ दिल्लीमा रहँदा उनीहरु अति निकटका साथी थिए ।
सुम्निमाको बिबाह निमा मार्टिन शेर्पासँग हुन लागेको हो । शेर्पाका बाबु आङ छिरिङ र आमा जो लोगे हुन् ।
टिप्पणीहरू