केशव स्थापितपछि उपमेयरकी उम्मेदवार सुनिताको पालो

केशव स्थापितपछि उपमेयरकी उम्मेदवार सुनिताको पालो

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलमाथि शैक्षिक प्रमाणपत्र ढाँटेर प्राविधिक सल्लाहकारको नियुक्ती लिएको गम्भीर आरोप लगाइएको छ ।

आयोगमा परेको उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त नगरेको अवस्थामा पनि शैक्षिक योग्यता ढाँटेर महानगरको शहरी विकास परियोजना सल्लाहकारको नियुक्ति लिई मासिक तलब बुझेको आरोप लगाइएको छ ।

महानगरपालिकाको शहरी विकास परियोजना विज्ञ सल्लाहकारमा नियुक्त व्यक्तिसँग प्राविधिक विषयको राम्रो ज्ञान हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा डंगोलमा ती दुबै विषय नभएको उजुरीमा उल्लेख छ । उनले समाजशास्त्रमा स्नातक गरे पनि महत्वपूर्ण पदमा नियुक्ति दिइएको भन्दै त्यसको अध्ययन र अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसूरअनुसार सजाय गर्न र उनले प्राप्त गरेको रकमसमेत असुल उपर गर्नुपर्ने मागदाबी गर्दै आयोगमा उजुरी परेको हो । निवेदक काठमाडौंकै स्थायी बासिन्दा रहेको बताइएको छ ।

तर, डंगोलले महानगरमा पाँच वर्ष सेवा नगरेको उनी निकट स्रोतले बताएको छ । ‘उनलाई मेयर विद्यासुन्दर शाक्यले सहायक विज्ञमा नियुक्त गरेका हुन्,’स्रोतले भन्यो ।

उनको नियुक्ती महानगरअन्तर्गतको शहरी योजना आयोगमा भएको थियो । थापाथलीमा रहेको उक्त कार्यालयमा विज्ञ र सहायक विज्ञगरि १० जनाको टिम राख्ने व्यवस्था छ । उक्त टिमले मेयर कार्यकालमा रहुञ्जेल काम गर्ने अधिकार पाउने कानुनी व्यवस्था छ ।

सहायक विज्ञ सुनिताले अढाई वर्ष मात्र काम गरेको पनि स्रोतले पुष्टि गरेको छ । विज्ञलाई ७० हजार र सहायक विज्ञलाई ४० हजारको हाराहारीमा तलब दिने व्यवस्था रहेकाले उनले त्यही रकम बुझेकी हुन् । उनलाई जनसम्पर्क तथा भाषा विज्ञको रुपमा नियुक्ती गरिएको बताइन्छ ।

डंगोल नेपाली, नेपाल भाषा र अंग्रेजीमा पोख्त रहेकाले महानगरमा पत्राचारको क्रममा आवश्यक पर्ने भाषाको निम्ति उनलाई छनौट गरिएको एक जना अधिकृतले बताए । तर, डंगोललाई विज्ञमा नियुक्त नगरिएको र ८० हजार मासिक तलब नदिइएको अभिलेखबाट पुष्टि हुने उनले जानकारी दिए । शहरी योजना आयोगका सचिवालय प्रमुख कुमारी राईका अनुसार सहायक विज्ञको योग्यता स्नातक र विज्ञको योग्यता स्नातकोत्तर तोकिएको छ ।

यसअघि मेयरका उम्मेदवार केशव स्थापितमाथि विगतमा लगाईको यौन दूराचारीको आरोप अहिले सामाजिक सञ्जालमा फेरि उठाइएको छ । त्यसमा पनि केशवको कुनै संलग्नता नरहेको महानगरपालिका स्रोतले स्पष्ट पारेको छ ।

टिप्पणीहरू