‘भ्रष्ट’ लाई सीईओ बनाउन एनआरएनएमा चलखेल
तीन जना अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई नयाँ सीईओ नियुक्त गर्न चलखेल शुरु भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा सञ्चालित १० करोड रुपैयाँको परियोजनामा अधिकृत भएर काम गरिसकेका राजेन्द्र राउतलाई सीईओ बनाउन रुसमा बसोबास गर्ने अध्यक्ष डा.बद्री केसी ज्यान छाडेर लागेको संघका एक जना पदाधिकारीले बताए ।
केसी उक्त परियोजनाका संयोजक थिए । केसी र राउतमाथि उक्त परियोजनाको रकम आफूखुशी प्रयोग गरेको आरोप लाग्दै आएको छ । आफूमाथि लागेको आरोपका सबैखाले प्रमाण मेटाउन राउतलाई सीईओ बनाउन अध्यक्ष केसीले अर्की अध्यक्ष रबिना थापालाई सहमत गराइसकेको बताइन्छ ।
तर कार्यकारी अध्यक्ष कुल आचार्यले विवादित व्यक्तिलाई कुनै पनि हालतमा सीईओ बनाउन नहुने अडान लिएको बताइन्छ । राउतलाई सीईओ बनाउन नेपालको कानून विपरित निवेदकको उमेर ४५ वर्ष नाघेको हुनु पर्ने प्रावधान राखिएको छ ।
यसअघिका सीईओ राजेश राणाको सम्झौता नवीकरण नगरेपछि उनले अवकाश पाएका छन् । कुमार पन्त अध्यक्ष हुँदा आईएलओ परियोजनामा गरिएको भ्रष्टाचारको विरोध गरेका कारण उनको म्याद थप नगरिएको उच्च सूत्रले बतायो । केसी र राउतले गरेको आफूखुशी खर्चको आईएलको मुख्यालय जेनेभामा पनि उजुरी परेको थियो ।
उक्त विषयमा छिट्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हाल्ने तयारी गरिएको स्रोतले बताएको छ ।
टिप्पणीहरू